प्रदेश ५ मा नेकपाको ‘क्लीन स्वीप’, शर्मा, घिमिरे र भट्टराई विजयी

by समतल अनलाइन

दाङमा राष्ट्रियसभा निर्वाचनको मतदानमा मतदाता

दाङ।राष्ट्रियसभा सदस्यका लागि बिहीबार दाङमा भएको निर्वाचनमा प्रदेश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्।

सत्तारूढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन्।

दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । राष्ट्रिसभाका तीन जना सदस्य पदका लागि नौ जना बीचमा प्रतिपर्धा भएको थियो।

नेकपा र कांग्रेसबाट समान तीनरतीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रतिस्पर्धा गरेका थिए।

कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहम्मद हलवाई र अन्यबाट अर्घाखाँचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए।

त्यस्तै, समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए। त्यसैगरी, राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको थियो।

 
 
  
 

You may also like