बाक्लो कुहिरोका कारण त्रिभुवन विमानस्थलको सबै उडान–अवतरण अवरुद्ध

by समतल अनलाइन

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको सबै उडान र अवतरण अवरुद्ध बनेको छ । बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाडाैंसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिंड्न पनि समस्या भएको छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोख्रेलले बताएकी छन् । यसैबीच देशका धेरै ठाउँमा बिहीबार र शुक्रबारदेखि वर्षा र हिमपात गराइरहेको मौसमको प्रणाली कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बर्षा र हिमपात गराउने प्रणाली कमजोर हुँदै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने महाशाखाकी मौसमविद् विभूती पोख्रेलले जानकारी दिएकी छन् । तर शनिबार बेलुकीपख काठमाडौंसहित मध्य र पश्चिमका थोरै ठाउँमा एकैछिन हल्का पानी पर्ने सम्भावना भने रहेको उनले बताएकी छन् ।

गएको २४ घण्टामा देशभरी नै पानी परेको छ । सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like