भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि छ जनाको अन्तर्वार्ता हुने

by समतल अनलाइन

काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको लागि ६ जनाको नाम छनौट गरिएको छ ।

भारतीय मिडियाहरुको रिपोर्ट अनुसार करिब २ हजारभन्दा बढी आवेदनबाट ६ जनाको नाम अन्तिम चरणका लागि छनौट गरिएको हो ।

अब भारतीय टिमको मुख्य प्रशिक्षकको दौडमा वर्तमान प्रशिक्षक रवि शास्त्री, न्युजील्याण्डका पुर्व प्रशिक्षक माइक हेसन, अस्ट्रेलिया तथा श्रीलंकाका पुर्व कोच टम मुडी, वेस्टइन्डिज र अफगानिस्तानका पुर्व कोच फिल साइमन्स, भारतीय टिमका पुर्व म्यानेजर लालचन्द राजपुत, भारतका पुर्व फिल्डिङ कोच रोबिन सिंह रहेका छन् ।

भारतीय टिमको प्रशिक्षक छान्ने जिम्मा पुर्व क्रिकेटर कपिल देवको नेतृत्वमा रहेको क्रिकेट सल्लाहकार समितिले गरिरहेको छ । समितिले आगामी अगस्ट १६ मा सबै ६ जनाको अन्तर्वार्ता गर्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

भारतीय टिमको प्रशिक्षकमा हालका प्रशिक्षक रवि शास्त्रीले नै निरन्तरता पाउने सम्भावना बढी रहेको बताइएको छ । अहिले भारतीय क्रिकेट बोर्ड समेत निर्वाचित पदाधिकारी नरहेको अवस्थामा विदेशी प्रशिक्षक राख्ने सम्भावना निकै कम रहेको मिडिया रिपोर्टमा बताइएको छ ।

 
 
  
 

You may also like