देशका धेरै ठाउँमा बर्षा जारी, यस्तो रहनेछ अबको तीन दिन

by समतल अनलाइन

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरैजसो ठाउँमा बिहीबार रातिदेखि वर्षा जारी छ । काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा हुँदा चिसो बढेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार रातभर वर्षा भएको छ । अहिले (शुक्रबार बिहान) सम्म वर्षा जारी नै छ । वर्षाका कारण उपत्यकाका खाल्डे सडकमा पानी जम्दा सर्वसाधरणलाई हिंड्डुलमा समस्या भएको छ । यतिबेला राजधानीका सडकमा मानिस छाता ओढ्दै र रुझ्दै आफ्नो गन्तव्यतिर हिंडिरहेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ ।

महाशाखाले शुक्रबार बिहान प्रकाशन गरेको बुलेटिनमा भनिएको छ : पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ ।

आज पनि दिनभर देशभरजसो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । महाशाखाकै अर्का मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेकाले आज पश्चिम क्षेत्रमा दिउँसोदेखि वर्षा कम हुनेछ भने मध्य र पूर्वी क्षेत्रमा दिनभर वर्षा हुने सम्भावना छ ।

शुक्रबार बिहान ७ बजे सम्पर्क गर्दा मौसमविद् मानन्धरले काठमाडौंस्थित त्रिभुवन विमानस्थल क्षेत्रमा १५ मिलिमिटर वर्षा भएको जानकारी दिएकी छन् । ‘उपत्यकाभरिकै तथा देशका १६ स्टेसनको तथ्याङ्क चाँहि हामी ८ः४५ बजे मात्रै आइपुग्छ ।’ महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । देशका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ ५ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

 
 
  
 

You may also like