नेविसंघको रिले अनशन एक महिनादेखि जारी

by समतल अनलाइन

काठमाडौं । नेपाल विद्यार्थी संघको रिले अनसन एक महिनादेखि जारी रहेको छ । विधानअनुसार नेविसङ्घको १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै गत पुस २ गतेदेखि नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको रिले अनशन आज एक महिना पुगेको छ ।

नेविसङ्घको नयाँ विधानमा ३२ वर्ष मुनिकालाई अध्यक्ष बनाउनुपर्ने व्यवस्था गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घ भने नेतृत्वको खोजीमै अल्मलिएको छ ।

विसं २०७५ माघमा नेविसङ्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएसँगै एक वर्षदेखि नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ ।

नेविसङ्घका नेता नवराज त्रिपाठीले विधानअनुसार २० जिल्लाको महाधिवेशन सम्पन्न भइसकेकाले अव बन्ने तदर्थ समिति विधानअनुसार ल्याउनुपर्ने बताए। “विधानअनुसार तदर्थ समिति निर्माण गरेर स्ववियु निर्वाचन र नेविसङ्घको १२औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने अनशनकारीको माग हो”, उनको भनाई छ। नेविसङ्घ नेता त्रिपाठीले भने विधान मिचेर नेतृत्व आए आमरण अनशन बस्ने बताए।

नेविसङ्घका अर्को नेता सुशील भट्ट स्ववियु निर्वाचनमा अरु विद्यार्थी सङ्गठनसँग प्रतिस्पर्धा गर्नपनि तत्काल तदर्थ समिति निर्माण गर्नुपर्ने बताए । “विद्यार्थीको नेतृत्व विद्यार्थीबाटै स्थापित गर्नुपर्छ भन्ने हाम्रो माग हो”, उनले भने।

नेपाली काँग्रेस भने पार्टीभित्रको १४औँ महाधिवेशनको समय तालिका र भ्रातृ संस्थाभित्र नेतृत्व कसलाई दिने भन्ने विवादमा अल्झिएको छ ।

पार्टीभित्रको विवादका कारण अनशन पनि ओझेलमा पर्दै गएको छ । रासस

 
 
  
 

You may also like