प्रतिनिधिसभा बैठक माघ ६ सम्मलाई स्थगित

by समतल अनलाइन

उपसभामुख तुम्बाहाङ्फेले भेटिन् ओली–प्रचण्डलाई

काठमाडौं । आज (आइतबार) १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । अर्को बैठक माघ ६ गते दिउँसो १ बजे बोलाइएको छ ।

सत्तारुढ नेकपामा सभामुख चयनको विवाद सल्टिन नसकेपछि प्रतिनिधिसभा बैठक प्रभावित भएको हो । नेकपा नेतृत्वले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको थियो । तर, उनले राजीनामा नदिने अडान लिएकी छन् ।

उपसभामुख तुम्बाहाङ्फेले भेटिन् ओली–प्रचण्डलाई
उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेर प्रधामन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेकी छन् । आइतबार मध्यान्ह प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएपछि उपसभामुख तुम्बाहाङ्फे प्रधानमन्त्री निवास बालुवाटर पुगेकी हुन् ।

नेकपा सचिवालय बैठकले शनिबार सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो । सचिवालय बैठकलाई चुनौती दिँदै तुम्बाहाङ्फेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा नदिने प्रतिक्रिया दिएकी थिइन् ।

प्रधानमन्त्री निवासबाट बोलावट भएपछि उपसभामुख बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री निवासबाट वोलावट भएपछि उहाँ त्यहाँ जानु भएको हो’, सचिवालयले भन्यो । उनले उपसभामुखले राजीनामा दिनेबारे कुनै सोच नबनाएको बताएका छन् । ‘प्रधानमन्त्री निवासबाट फर्केपछि के गर्ने भन्ने विषयमा बल्ल छलफल हुन्छ’, सचिवालयले भन्यो ।

संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ ।

पूर्व माओवादी समूहले तत्कालीन एमाले र माओवादीबीचको भागबण्डामा सभामुख आफ्नो भागमा परेको र अहिले पनि आफूले नै सभामुख सिफारिस गर्न पाउनुपर्ने अडान राखेको छ भने पूर्व एमाले पक्षबाट प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्व एमाले समूहबाटै उपसभामुख बनेकी शिवामाया तुम्बाहाङ्फेले पनि सभामुखका दावी प्रस्तुत गर्दै आइरहेकी छन् ।

 
 
  
 

You may also like