उखु किसान र सरकार बिच पाँचबुँदे सहमति

by समतल अनलाइन

आन्दोलनमा उत्रिएका उखु किसानसँग सरकारले शुक्रबार पाँचबुँदे सहमति गरेको छ । किसानको बक्यौता ७ माघभित्र भुक्तानी गराउने सरकारको लिखित प्रतिबद्धतापछि किसानले आन्दोलन स्थगित गरेका छन् ।

‘किसानका सबै माग जायज छन्, सरकारले चिनी उद्योगीबाट उखुको बक्यौता ७ माघभित्र किसानलाई दिलाउने र आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ,’ किसानसँगको सहमतिपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने ।

सहमति पत्रमा मन्त्रालयका सहसचिव दिनेश भट्टराई र उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले हस्ताक्षर गरेका छन् ।

सरकारले उखुको बक्यौता भुक्तानी गर्न सहमति जनाएपछि आन्दोलन स्थगित गर्ने निर्णयमा पुगेको संघर्ष समितिका सदस्य मायाशंकर यादवले बताए । ‘हामीले सरकारलाई विश्वास गरेर आन्दोलन स्थगित गरेका छौँ, अब सर्लाही फर्कन्छौँ,’ उनले भने, ‘तोकिएको म्यादभित्र हाम्रो भुक्तानी पाउने र अन्य समस्यासमेत समाधान हुने आशा गरेका छौँ ।’

यी हुन् पाँचबुँदे सहमति

१. नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिमको उखु किसानहरूको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरूले ०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने ।

२. उखु किसान र सञ्चालकहरूसँग सम्बन्धित उखुको उत्पादकत्व बढाउने, किसानहरूलाई समयमै मल, बिउलगायत मेसिन उपलब्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर र चिनी निर्यातसमेत गर्न सक्ने बनाउन चिनी उद्योगको सहउत्पादनको उपयोग, उखुबापतको रकम तत्काल भुक्तानी गर्न चिनी उद्योगहरूलाई आवश्यक चालू पुँजी र नगद प्रवाहको व्यवस्थापनका उपाय सिफारिस गर्न तथा उखु किसानहरूको हरेक वर्ष देखिने भुक्तानी समस्याको दिगो समाधान गर्न उखु खरिद–बिक्री गरेको रकम तुरुन्त भुक्तानी हुने स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन यस मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारावाला निकायहरू, चिनी उद्योगी किसान प्रतिनिधि, विज्ञहरूसमेत रहेको कार्यदल गठन गर्न र उक्त कार्यदलको प्रतिवेदन क्रमशः कार्यान्वयन गर्ने ।

३. नेपाल सरकारबाट उखु किसानहरूलाई उपलब्ध गराइने अनुदानबापतको रकम किसानहरूले समयमै नपाएको गुनासोका सम्बन्धमा समयमै पर्याप्त रकम निकासाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाइने ।

४. उखु किसानहरूको भुक्तानी चिनीको आपूर्तिलगायत विषयमा कुनै समस्या/गुनासो भए उखु किसान र उद्योगीहरूले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाका रूपमा तोक्ने ।

५. भुक्तानीका लागि काठमाडौंमा आएर सरकारसमक्ष समेत माग राखेकोमा सबै किसानले आजैबाट ध्यानाकर्षणका गतिविधि तुरुन्तै स्थगित गर्ने ।

 
 
  
 

You may also like