अतिथि सत्कार सिकाईका लागि दोस्रो सडक खाना महोत्सव सञ्चालनमा

by समतल अनलाइन

नारायण वली
बुटवल । नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश नं.५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्य अनुरुप बुटवलमा आज देखि दोस्रो सडक खाना महोत्सवको आयोजना गरिएको छ ।

अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ आज देखि यही पृुस १६ गते सम्म बुटवलमा आयोजना हुन लागेको सडक खाना महोत्सवले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपुर्ण योगदान दिने होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताउनु भएको छ ।

साथै अध्यक्ष जिसीले पर्यटकहरुका लागि अतिथि सत्कारका साथै विभिन्न जातजातिका खानाका परिकारको स्वाद चखाउने र कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने गरी दोस्रो सडक खाना महोत्सवको आयोजना गरिएको जनाउनु भएको छ ।

यस्तै राष्ट्रको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै आन्तरिक तथा वाह््य पर्यटकहरुलाई यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै बुटवल क्षेत्रमा पाईने विभिन्न खानाका परिकार हरुको जानकारी गराउनु नै खाना महोत्सवको प्रमुख लक्ष्य रहेको महोत्सव प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले जानकारी दिनुभएको छ ।

यस्तै प्रदेश नं.५का मुख्यमन्त्री शंकर पोखरेलले खाना सँस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनु भएको छ । आज देखि सञ्चालन भएको सडक खाना महोत्सवको आज उद््घाटन गर्दै मुख्यमन्त्री पोख्रेले कम्तिमा हप्ताको एक दिन वा एक साँझ स–परिवार घर बाहिर खाना खाने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनु भएको हो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा आज देखि शुरु भएको सडक खाना महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताउनु भएको हो । साथै मुख्यमन्त्री पोख्रेलले यहाँका स्थानिय नागरिकहरुलाई होटल तथा रेष्टुरेण्टमा गएर कम्तिमा पनि हप्ताको एकदिन शनिबार सबै परिवारले घर बाहिर खाना खाने सँस्कृतिको विकास गर्नुपर्ने वताउनु भएको थियो ।

यस्तै मुख्यमन्त्री पोख्रेलले पछिल्लो समय बुटवललाई पर्यटकीय हबका रुपमा विकास गर्नका लागि विभिन्न कला सँस्कृति र नाचगान समेत अवलोकन गर्न पाउने गरी खाना पार्कको निर्माण तथा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यसैविच कार्यक्रममा बोल्दै प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुटवलमा रात्रीकालिन बजार सञ्चालनका लागि सोंच बन्दै गरेको उल्लेख गर्नुभएको थियो । रात्रीकालीन बजार सञ्चालनले व्यापार व्यवसाय फस्टाउनुका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण सफलता हासिल गर्न सकिने उहाँको भनाई रहेको थियो । साथै मन्त्री गिरीले पर्यटन वर्ष घोषणा हुँदै गर्दा निर्माणाधिन भौतिक संरचनाहरु तयार हुन नसक्ने हो कि भन्ने चिन्ता नगर्न र भ्रमण वर्ष सफल हुनेमा ढुक्क हुन सवैमा आग्रह गर्नुभएको थियो । यस्तै बुटवल उप–महानगरापलिकाका मेयर शिवराज सुवेदीले अँग्रेजी नयाँ वर्षमा गरिएको फुड फेस्टिवल नेपाली नयाँ वर्षमा समेत आयोजना गर्नुपर्ने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन प्रदेश नम्बर पाँचका अध्यक्ष भास्कर काफ्लेले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो । संगठनका रुपन्देही अध्यक्ष समुन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव माधव कुमार खनालले गर्नुभएको थियो । आज देखि सञ्चालन भएको सडक खाना महोत्सव यही पुस १६ गते सम्म ३ दिन चल्ने खाना महोत्सवमा करिव १ सय २५ वटा स्टल राखिएको स्टवल व्यवस्थापन समितिले जनाएको छ । खाना महोत्सवमा २ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र झण्डै ५ करोड वरावरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले जानकारी दिएको छ ।

 
 
  
 

You may also like