तिलोत्तमामा सघन सरसफाई : नहरमा पोलेथिन बटुल्दै अभियन्ता

by समतल अनलाइन

बुटवल ।तिलोत्तमा नगरपालिकालाई खुला शुन्य पोलोथिन नगर बनाउने अभियान अन्तर्गत् शनिबार पनि विभिन्न वडाहरुमा सघन सरसफाई गरिएको छ । नगरपालिका र सिम नेपालको साझेदारीमा सञ्चालित खुला शून्य पोलोथिन अभियानअन्र्तगत् शनिबार वडा नं. १, २ र ३ मा सघन सरसफाई गरिएको हो ।

सरसफाईमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्षहरु तामनाथ पाण्डे, दधिराम गौतम, टंक तिवारीलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालय, बैंक, सहकारीलगायतका संघ–संस्थाहरुको सहभागिता रहेको थियो ।

वडाबासीहरुको व्यापक सहभागितामा स्रोह—छत्तीस नहर, नयाँमिल, ड्राइभरटोल, जानकीनगर, योगिकुटी, शंकरनगर लगायत वडाका टोल, सडक, सार्वजनिक स्थानमा सरसफाई गरिएको नगरपालिकाले जनाएको छ । शनिबारको सरसफाईबाट १२ ट्रेक्टर पोलोथिनजन्य फोहार संकलन गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले पोलोथिनजन्य फोहारले मानव स्वास्थ्य, वातावरण, जलवायु परिवर्तनमा नकारात्मक असर पारेकाले त्यसको न्यूनीकरणका लागि अभियान चलाइएको बताउनुभयो ।

सरसफाईमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै उहाँले पोलोथिनजन्य फोहोर तोकिएको ठाउँमा मात्र बिसर्जन गर्न सबै नगरबासीलाई आग्रह गर्नुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले सडक, सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न सबैलाई अनुरोध गर्दै फोहोर व्यवस्थान प्रणालीलाई थप प्रभावकारी गराउन नगरपालिका प्रतिबद्ध रहेको प्रष्टाउनुभयो ।

तिलोत्तमालाई शुन्य पोलिथिन क्षेत्र बनाउन सिम नेपाल सरोकारवालाहरुको सहयोगमा ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नारा लिई अघि बढेको छ । तिलोत्तमालाई नमुना नगरपालिका बनाउँदै नगरबासीमा वातावरण सम्बन्धी सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको अभियान्ता निपेश ढाकाले बताउनुभयो ।

तिलोत्तमाले गत साउनदेखि नैं पोलोथिन झोला निषेध गरिसकेको छ । तिलोत्तमाको यो घोषणालाई सफल कार्यान्वयनमा ल्याउन पोलिथिन शुन्य बनाउने लक्ष्यमा अघि बढेको सिम नेपालले आफ्नो अभियानको सुरुवात तिलोत्तमाबाट गरेको हो ।

‘हामीहरुको उद्देश्य भनेको खेतबारी, कृषिभूमि, वनजंगल, खोलानाला, कुला, सार्वजनिक स्थान, सडकमा भएको पोलोथिनजन्य फोहोरलाई शुन्यतामा झार्ने हो ।’–अभियान्ता ढाकाको दाबी छ ।ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमाको अभियानलाई साथ दिन ग्रीनरी नेपालका अभियन्ताहरु तिलोत्तमा आएका हुन् । अभियान्ताहरु पोलोथिनलाई शुन्यतामा झार्ने प्रयासका साथ तिलोत्तमाका टोल–टोलमा पुगेका छन् ।

 
 
  
 

You may also like