मुख्यमन्त्री पोखरेलद्वारा सटरहरु भत्काउने काममा भएको अवरोधप्रति आक्रोश व्यक्त

by समतल अनलाइन

बुटवल । प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको बिकासका लागि सटरहरु भत्काउने काममा भएको अवरोधप्रति आक्रोश व्यक्त गरेका छन । प्रदेश सरकारले राष्ट्रिय गौरवको रुपमा लिएको अस्पतालको विकासको काममा व्यवसायी तथा यस क्षेत्रका संघसंस्थाहरुले समेत असहयोग गरेको गुनासो व्यक्त गरे ।

गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालनमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकउत्सव तथा ७ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन । लुम्बिनी प्रादेशिक अस्पतालको संरचनागत प्रबन्ध र व्यस्थापकीय अवस्थाहरु हुंदा अव्यवस्थित र शुक्रबारे, बुधबारे हाटबजारजस्तो स्वास्थ्यको हाट बजार भएको बताउंदै उनले सुधारका लागि आवश्यक रहेको औंल्लाए ।

अस्पताल सुधारका लागि प्रदेश सरकारले योजना ल्याउँदा संघसंस्थाहरुले व्यवसायीलाई बोकेर जिल्ला अदालत जाने ? उनले भने भाषण गर्दा ठूला–ठूला र समृद्धिको नारा लगाउने विकासको काममा अवरोध गर्ने ? स्तरोन्नतिका लागि अस्पताल अगाडि रहेका सटरहरु जसरी पनि भत्काउनुपर्नेमा जोड दिंदै उनले बाहिर हिंड्ने सर्वसाधारणले भित्र देख्नसक्ने गरी पर्खालहरु समेत नराखेर संरचना बनाउनुपर्नेमा जोड दिए ।

अस्पतालभित्रको स्वास्थ्य सेवा के कसरी चलेको छ, सबैले प्रत्यक्ष देख्न पाउने गरी हुनुपर्छ । उनले भने भित्र कोठामा बसेर निजी अस्पतालमा सुटुक्क विरामी पठाउने काम अब बन्द गरिनु पर्छ । कतिपय निजी अस्पतालहरुले विरामी किन्ने गरेको बताउंदै उनले स्वास्थ्य क्षेत्रमा बुटवल बदनाम हुंदै गएको बताए ।

स्वास्थ्यजस्तो संवेदनशील विषयमा सेवाभन्दा बढी नाफा कमाउने उद्देश्यले बिरामी ल्याउने एम्बुलेन्सलाई समेत कमिशन दिने गरेको पाइएको उनले बताए । बिरामी ल्याउने एम्बुलेन्स र व्यक्तिलाई कमिशन दिने स्वास्थ्य संस्थाले बिरामीलाई कुन रुपमा सेवा गर्छ होला ? प्रश्न गर्दै उनले भने यी सबै कामहरु कानून विपरीत हुन्, पहिले बिरामी किन्ने कुरामा चितवन बदनाममा थियो, अहिले बुटवल बदनाम हुंदैछ ।

मुख्यमन्त्री पोखरेलले मेडिकल कलेजहरुलाई अस्पताल चलाएर विद्यार्थी पढाउनेमा केन्द्रीत हुन आग्रह गरेका छन् । विद्यार्थी पढाएर अस्पताल चलाउने होइन, अस्पताल चलाएर बचेको पैसाले विद्यार्थी पढाउनुस् । उनले भने विधि फलो गर्ने हो भने यस क्षेत्रमा ३ वटा मेडिकल कलेजहरु छन् यसैले स्वास्थ्य क्षेत्रको हबका रुपमा रुपन्देहीलाई चिनाउन सकिन्छ ।

प्रदेश पांचमा स्वास्थ्य सुविधाको अवस्था कमजोर रहेको बताउंदै उनले जनताको विश्वास घट्दै गएर जिल्ला, प्रदेश र देश नै छानेर उपचारका लागि बाहिर जाने अवस्था रहेकोमा चिन्ता व्यक्त गरे । स्वास्थ्य क्षेत्रको विकास गर्दै मेजर अप्रेसन गर्ने सुविधान प्रदेश भित्रै गर्ने प्रबन्ध गर्नुपर्ने बताउंदै उनले त्यो कुरा सम्भव रहेको उल्लेख गरे ।

गौतमबुद्ध सामुदायिक अस्पतालको स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराउने कुरामा बुटवल उपमहानगरपालिकाले सहयोग गर्नुपर्ने बताउंदै उनले प्रदेश सरकारले पनि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश पांचका सदस्यहरु भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अस्पतालका निर्देशक डा. समिर गौतम, पत्रकार महासंघ उपाध्यक्ष दिनेश पाण्डे, व्यापार संघ अध्यक्ष यमलाल लोहोनी, उद्योग संघ अध्यक्ष बाबुराम बोहोरा,रोटरी क्लब सेन्ट्रल बुटवलका राजेन्द्र कार्कीलगायतले अस्पतालाई सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका सचिव दिनेराज रेग्मीको सञ्चालन तथा अध्यक्ष एजाज आलमको सभापतित्वमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like