उपेन्द्र यादवले सरकार छोडे, सरकार सहमतिबाट पछि हटेको आरोप

by समतल अनलाइन

काठमाडौँ । समाजवादी पार्टीले सरकारबाट बाहिरिएको छ । उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामलामन्त्री उपेन्द्र यादवले आज देखि लागु हुने गरि आफ्नो पदबाट राजीनामा दिएका छन् । यादवले राजीनामामा सरकारमा जादा भएका सहमतिबाट सरकार पछि हटेकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेपनि प्रधानमन्त्रीले सो प्रस्ताव अस्वीकार गरिदिएका थिए । यादवले संविधान संशोधनका लागि सुझाव दिन विज्ञहरूको समूह गठन गर्न प्रस्ताव गरेको र प्रधानमन्त्री ओलीले सो प्रस्ताव सिधै अस्वीकार गरेपछि यादव सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताइएको छ ।

उनले संविधान संशोधनका लागि विज्ञ समिति गठन गर्ने प्रस्ताव गरेका थिए । ख्यातिप्राप्त संविधानविद् वा सर्वोच्च अदालतका पूर्व न्यायाधीश मध्येबाट सरकारले तोकेको व्यक्तिलाई अध्यक्ष तथा नेपाल कानुन आयोगका अध्यक्ष, कानुन आयोगका उपाध्यक्ष, न्याय तथा कानुन मन्त्रालयले तोकेका संविधानविद् ३ जना सदस्य रहने गरी विज्ञ समिति बनाउने प्रस्ताव यादवको थियो । यसको सदस्य सचिवमा कानुन मन्त्रालयले तोकेको सचिव रहने प्रस्ताव थियो ।

समाजवादी पार्टीबाट केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहित ३ मन्त्री २०७५ जेठमा सरकारमा सामेल भएकामा अघिल्लो महिना सरकार पुनर्गठन हुदा एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले हटाइदिएका थिए ।

अहिले पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवम् कानुनमन्त्री रहेका थिए भने पार्टी सचिव मोहम्मद इस्तिहाक राई शहरी विकास मन्त्री रहेका थिए ।

 
 
  
 

You may also like