एक्साभेटर प्रयोग गरी खोलाको चरम दोहन, नगरपालिका रमिते मात्र

by समतल अनलाइन

बारा। जिल्लाको चुरे क्षेत्रबाट बग्ने पसाह खोलामा ठेकेदारले चरम दोहन गरेका छन् । नियम विपरीत दुईटा एक्साभेटर प्रयोग गरी ठेकेदारले चरम दोहन गरेका हुन् ।

जितपुर–सिमरा उपमहानगरपालिकाले एउटा एक्साभेटर मेसिन प्रयोग गर्न अनुमति दिए तापनि ठेकेदारले एकै स्थानमा दुई वटा मेसिन प्रयोग गरी खोलाको बीच भागमा ठुल्ठूला खाल्डा बनाएका छन् ।

नगरपालिकाले ठेकेदारसँग एउटा मेसिन प्रयोग गर्ने र अर्को मेसिनले खोला च्यानालाइजेसन गर्ने गरी सहमति गरेको भएता पनि ठेकेदारले दुवै एक्साभेटर मेसिन एकै पटक खोलामा सञ्चालन गरिरहेका छन् । खोलाको चरम दोहन भएको भन्दै स्थानीय केही युवाको समूहले वडा कार्यालयमा नियम उल्लंघन गर्नेलाई कारबाहीको माग गरेका छन् ।

खोलाका बीचमा ९ फिटका खाल्डा
खोलाको सतहबाट बढीमा तीन फिटसम्म गहिराइ बनाएर गिटी–बालुवा निकाल्न मिल्ने वातावरणीय प्रारम्भिक परीक्षणले जनाएको छ । ठेकेदारले एक्साभेटरको प्रयोग गरी ९ फिट सम्मको गहिराइबाट गिटी–बालुवा निकालेर कानुनको धज्जी उडाउँदा समेत नियमन गर्ने निकाय नगरपालिकाले भने हालसम्म केही गर्न नसकेको स्थनीयको भनाइ छ । यसरी तीन फिटको गहिराइ बनाउँदा खोलाको धार मिलाएर पुर्नुपर्ने प्रावधान छ ।

नगरपालिका मूकदर्शक
खोलाको चरम दोहन भएको आफूहरूले लिखित निवेदन दिँदा समेत यस विषयमा नगरपालिका चुइँक्क नबोलेकामा स्थानीय आक्रोशित छन् । समस्या समाधान गर्न नगरपालिका गम्भीर हुनुपर्नेमा उनीहरूको जोड छ । ‘तत्काल स्थलगत निरीक्षण गरी मापदण्डअनुसार काम गर्नुर्पयो,’ स्थानीय युवा कमल नेपालले भने, ‘यसबाट हुने क्षति न्यूनीकरण गरी जनताको जिउ–धनको सुरक्षा गर्न आवश्यक छ ।’

जितपुर–सिमरा उपमहानगरपालिकाका राजस्व विभागप्रमुख नवराज ढुंगेलले भने आफूहरूले दुवै मेसिन प्रयोग गर्ने सम्झौता नगरेको बताए । ‘हामीले दुवै मेसिन प्रयोग गर्न भनेर सम्झौता गरेका छैनौँ ।

दुईटा मेसिन प्रयोग गरेर ठुल्ठूला खाडल भएको भए यो ठेकेदारको बदमासी हो,’ उनले भने, ‘हामी छिट्टै अनुगमन गर्छौँ, गल्ती भएको भए कारबाही गर्छौँ ।’सम्झौतामा एउटा मेसिन प्रयोग गर्ने र अर्को मेसिन च्यानालाइजेसन गर्ने उल्लेख छ ।

यसले दोहोरो अर्थ लाग्ने भन्दै २ पुसमा नगरले ठेकेदारलाई अर्को पत्र पठाएको छ । जसमा एउटा मेसिन प्रयोग गर्ने र त्यो मेसिन बिग्रिए वा काम गर्न नसक्ने अवस्थामा मात्र अर्को मेसिन चलाउनुपर्ने उल्लेख गरेको छ । ओम सप्लायर्सले करिब तीन करोड रुपैयाँमा पसाह खोलाको टेन्डर पाएको थियो । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like