सुर्खेतमा प्यान लिनेको घुइँचो

by समतल अनलाइन

सुर्खेत । आन्तरिक राजश्व कार्यालय सुर्खेतमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ ।

सरकारले यही जेठ १५ गतेदेखि व्यवसाय, रोजगारी वा अन्य कुनै आयआर्जनमा जोडिएका प्रत्येक व्यक्ति, फर्म वा संस्थालाई प्यान अनिवार्य गरेपछि राजश्व कार्यालयमा सेवाग्राहीको भीड बढेको हो ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लुमा पन्थीले सुर्खेत प्रदेश राजधानीसमेत भएकाले प्यान लिनेको सङ्ख्या अत्यधिक रहेको बताउनुभयो । उहाँका अनुसार दुई महीनाको अवधिमा कार्यालयबाट नौ हजार ५०० जनाले प्यान लिएका छन् । दैनिक ५०० बढी सेवाग्राही व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन कार्यालय आउने उहाँको भनाइ थियो ।

प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी सङ्केत नम्बर हो । कार्यालयले प्यानका साथै भ्याट प्रमाणपत्र लिन आउनेको सङ्ख्या पनि वृद्धि भएको जनाएको छ ।

कर अधिकृत पन्थीले कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप रहे पनि कर्मचारीको सङ्ख्या भने निकै कम रहेको बताउनुभयो । कूल २२ कर्मचारीको दरबन्दी भएको कार्यालयमा हाल सात जना कार्यरत छन् ।

सरकारले यस वर्षदेखि व्यवसाय वा आयआर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले प्यान लिनुपर्ने कानुनी प्रावधानलाई कडाइ गरेको छ ।

 
 
  
 

You may also like