उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन माग

by समतल अनलाइन

बुटवल । ग्रील तथा स्टील व्यवसायीहरुले उद्योग दर्ता नगरी काम गर्ने अवैध व्यवसायलाई राज्यले नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । उद्योग दर्ता नगरी सामान्य तालिमको भरमा र झोलामा सामान लिएर घर घर पुगेर काम गर्ने ‘झोले’ व्यक्तिका कारण उद्योग सञ्चालन गरेर राज्यलाई कर तिरेका व्यवसायीहरु मर्कामा परेको व्यवसायीको गुनासो छ ।

ग्रिल तथा स्टिल व्यवसायी संघ रुपन्देहीको आठौं साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा बोल्ने व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाले सामान्य तालिमको भरमा दुई हजार भन्दा बढी कर लिएर प्रमाणपत्र दिएर झोले व्यवसाय गर्न प्रोत्साहन गरेर लाखौं रुपैयां लगानी गरेका ग्रील तथा स्टील व्यवसायीलाई संकटमा पारेको गुनासो गरे । उनीहरुले उपमहानगरले यस्तो व्यवसायीमारा नीति बन्द गर्न समेत माग गरेका छन् । कार्यक्रममा बोल्दै ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले राज्यले नीतिगत भ्रष्टाचार गरेर नेपालमै तयार हुने फलामजन्य सामानको २५ प्रतिशत विदेशबाट आयात गरिरहेको आरोप लगाए ।

उनले ग्रील व्यवसायमा २० हजार जनालाई रोजगारीको अवसर रहेको तर सरकारको नीति युवाहरुलाई विदेश पलायन गर्ने रहेका कारण कामदारको अभाव भएको गुनासो गरे । उनले तालिम लिएर २ वर्ष काम गरेका युवालाई मात्र विदेश जान दिने नीति बनाउन माग गरे । ग्रील व्यवसायमा नयां प्रविधि भित्राउन, बैंक ब्याज दर सहुलियत बनाउन र स्वदेशी उत्पादन प्रयोगलाई बढावा दिन सरकारसंग माग गरे ।

संघका संस्थापक अधयक्ष अशोक वर्माले ग्रील तथा स्टील व्यवसायलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न छुट्टै ग्रिल जोन बनाउनुपर्ने माग गरे । ग्रील व्यवसायको दीगो विकास र संरक्षणका लागि ग्रील जोन स्थापना अपरिहार्य रहेको भन्दै ग्रील जोन स्थापना गरी सबै व्यवसायीलाई एकत्रित गर्नसके व्यवसाय मर्यादित हुनुका साथै अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने बताए । संघको पांचौं अधिवेशनले नयां नेतृत्व चयन गर्नेछ ।

संघका जिल्ला अध्यक्ष नारायण पाठकले सरकारले लागु गर्न खोजेको भीसीटीएस ग्रील तथा स्टिल जस्ता साना व्यवसायीका हकमा लागु नगर्न र झोले व्यवसायीलाई नियन्त्रण गर्न माग गरे । संघका निवर्तमान अध्यक्ष दिलबहादुर रानाले जिल्लामा करिब एक हजारको संख्यामा ग्रील,आल्मुनियम तथा स्टिल व्यवसायी रहेका र करिब चार सय जना संघमै आवद्ध भएको अवस्थामा पनि सरकारले यो व्यवसायलाई बेवास्ता गरेको गुनासो गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष रनबहादुर विश्वकर्मा,पोखरा स्टिल फेब्रिकेसनका अध्यक्ष ऋषि गिरी,संघका जिल्ला सल्लाहकार भुवन ज्ञवाली,तृतीय उपाध्यक्ष शयाम केसी,सचिव रामचन्द्र गौतम लगायतले बोलेका थिए ।

 
 
  
 

You may also like