सीमामा एकै पटक ११४ बिओपी थप : भारतसँग आठ किमिको दूरीमा सशस्त्र प्रहरीको पोष्ट रहने

by समतल अनलाइन

काठमाडौं। भारतसँग सीमा विवाद बढेपछि सरकारले एकैपटक सीमामा ११४ वटा बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गर्ने निर्णय गरेको छ ।

चीनसँगको सीमानामा चार तथा भारतसँगको सीमानामा ११० वटा बिओपी थप गर्ने निर्णण भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यसअघि सीमामा सशस्त्र प्रहरी बलअन्र्तगत एक सय सातवटा बिओपी थिए । एकैपटक एक सय १४ थप भएसँगै भारतसँगको सीमामा अब सात हजार पाँच सय सशस्त्र प्रहरी बल तैनाथ हुनेछ ।

यद्यपि, यो भारतले नेपालको सीमामा खटाउँदै आएको सशस्त्र सीमा बल (एसएसबी) को तुलनामा थोरै हो । नेपाल र भुटानको सीमामा भारतले ९४ हजार एसएसबी खटाएको छ ।
कालापानीमा भारतको अतिक्रमणको विषय चर्किएपछि सीमा सुरक्षा बलियो बनाउन भन्दै बिओपी थप गर्न लागिएको हो ।

नयाँ दरबन्दी सिर्जना गरेर बिओपी थप्न लागिएको भने होइन, अहिलेकै दरबन्दी समायोजन गरेर बिओपी थप्ने निर्णय भएको हो । औद्योगिक, राजस्व तथा भन्सार गुल्ममा कार्यरत सशस्त्र प्रहरीको दरबन्दी कटौती गरेर बिओपी स्थापना गर्न लागिएको हो ।

खासगरी, तराई क्षेत्रका औद्योगिक क्षेत्रमा सशस्त्र समूह तथा अन्य आपराधिक समूहले धम्की र चन्दा आतंक मच्चाएपछि सरकारले उद्योगको सुरक्षाका लागि गुल्म स्थापना गरेको थियो । पछिल्लो समय उद्योग क्षेत्रमा सुरक्षाको ठूलो समस्या नभएकाले सरकारले त्यहाँबाट दरबन्दी कटौती गर्न लागेको हो ।

चार वटा बिओपी चीनको सीमानामा
स्थापना गर्न लागिएका बिओपीमध्ये चारवटा चीनसँगको सिमानामा राख्न लागिएको हो । दार्चुलाको कालापानी, हुम्लाको हिल्सा मुस्ताङको कोरला, संखुवासभाको किमाथांकामा बिओपी स्थापना गर्न लागिएको हो । जसमध्ये कालापानी, कोरला र किमाथांकामा बिओपी राख्ने अन्तिम तयारी भइरहेको गृह मन्त्रालयका प्रवक्ता शर्माले बताए ।

यद्यपि, ती क्षेत्रमा बिओपी स्थापना भौगोलिक दृष्टिकोणले निकै चुनौतीपूर्ण छ । धेरैजसो समय हिमपात हुने र सडक बाटोसमेत भएकाले समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बिरामी भएमा तत्काल हेलिकोप्टरबाट उद्धार गर्ने व्यवस्था मिलाउन सशस्त्र प्रहरीले माग गरेको छ ।

एसएसबीलाई भारतीय गृहमन्त्रीको निर्देशन सीमा क्षेत्रमा दुव्र्यवहार नगर्नू
भारतका गृहमन्त्री अमित शाहले छिमेकी नेपाल र भुटानका बासिन्दालाई सीमाक्षेत्रमा दुव्र्यवहार नगर्न सशस्त्र सीमा बल (एसएसबी) लाई निर्देशन दिएका छन् ।

एसएसबी स्थापनाको ५६औँ वार्षिकोत्सव समारोहलाई दिल्लीमा बिहीबार सम्बोधन गर्दै शाहले सो निर्देशन दिएका हुन् । नेपाली राजदूत निलाम्बर आचार्य र भुटानी राजदूत भी नाम्ग्याललाई साथमा राखेर गृहमन्त्री शाहले नेपाल र भुटानबाट भारतको सुरक्षामा कुनै खतरा नभएको पनि स्पष्ट पारेका छन् ।

‘नेपाल र भुटानसँग भारतको जम्मा २४५० किलोमिटर लामो खुला सीमाना छ । तर, दुई मित्रराष्ट्रबाट भारतलाई कुनै खतरा छैन । बरु कहिलेकाहीँ भारतभित्र शान्ति देख्न नचाहनेहरूले खुला सीमाको दुरुपयोग गर्न खोजेका छन्, यसमा एसएसबी सजग हुनुपर्छ,’ गृहमन्त्री शाहले भने, ‘देशको सुरक्षामा ध्यान दिनुहोला नै, मित्रराष्ट्रका बासिन्दालाई सीमा पार गर्दा दुव्र्यवहार नहोस् ।’ नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like