काठमाडौं।स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि बालुवाटार फर्किएका छन् ।
मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्रीको डायलाइसीस गरिएपछि प्रधानमन्त्री निवास बालुवाटार फर्किएको अस्पताल स्रोतले जनाएको छ ।
चिकित्सकका अनुसार अस्पताल पुग्नेवित्तिकै प्रधानमन्त्री ओलीलाई नेबोलाइजेसन (वाफ दिने ) र इमिपेनम नामक एन्टिबायोटिक दिइएको थियो ।
याे उनको नियमित डायलाइसीस हो । अर्को महिनादेखि प्रधानमन्त्री निवास बालुवाटारमै उनको डायलाइसीसको व्यवस्था गरिने चिकित्सकको भनाइ छ ।
प्रधानमन्त्री ओलीको हिजै डाइलाइसीस गर्नुपर्ने भएपनि मन्त्रिपरिषद् बैठकका कारण आज गर्न गरिएको हो ।
प्रधानमन्त्री ओली निकट स्रोतका अनुसमार मंगलबार दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको थियो ।
प्रधानमन्त्री ओलीको गत मङ्सिर १० गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनी उपचारपछि यही मङ्सिर १९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।