ग्लोबल टी–२० : सोमपालको विनिपेग हक्स क्वालिफायर्समा, सन्दीप आवद्ध टिम बाहिरियो

काठमाडौं, २४ साउन । क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको इलिमिनेटर खेलमा सन्दीप लामिछाने संलग्न टिम टोरन्टो नेशनल्स सोमपाल कामी रहेको विनिपेग हक्ससँग २ रनले पराजित भएको छ ।

बिहीआार हारपछि सन्दीपको टिम प्रतियोगिताबाट बाहिरिएको छ भने सोमपालको टिम क्वालिफायर्समा पुगेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाउँदै दुई सय ३८ रन बनायो । उसका लागि हेनरीच क्लासेनले शतकीय पारी खेले । जसमा उनले ४९ बलमा ११ चौका र ५ छक्काको मद्दतले एक सय ६ रन बनाए ।

यस्तै रोद्रिगो थोमसले ७३ तथा चिराग सुरीले १६ रनको योगदान गरे । ४२ रनमा पहिलो विकेट गुमाएको टोरन्टोका लागि रोद्रिगो र हेनरीचले शतकीय साझेदारी गरेका थिए । त्यसछि अरु खेलाडीले खासै राम्रो साझेदारी गर्न नसके पनि टिमले ठूलो योगफल तयार पार्यो । यो खेलमा सोमपाल कामीलाई बेन्चमा राखिएको थियो भने सन्दीप टिममा परेका थिए ।

जवाफमा पर्याप्त लाइट नभएपछि हक्सले टोरन्टोलाई डीएल प्रणालीबाट २ रनले पराजित गर्दै क्वालिफायर्समा पुग्न सफल भयो । सुरुवात राम्रो गर्न नसकेको हक्सले २७ रनमा दुई विकेट गुमाएको थियो । त्यसपछि उसले ४९ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका क्रिस लीन २१ रनमा आउट भए भने शाइमन अनवर पाँच तथा उमर अकमल एक रनमा पेभेलियन फर्किए ।

यस्तै सन्नी सोहेललाई सन्दीपले ३६ रनमा पेभेलियनको बाटो देखाए । अन्तिममा जेपी डुमिनी र रयाद एम्रित क्रिजमा हुँदा पर्याप्त लाइट नभएपछि खेल रोकियो । जसका कारण डीएल प्रणालीमा सन्दीप आवद्ध टिम दुई रनले पराजित भयो ।

डीएल प्रणाली अनुसार हक्सले एक सय ९९ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा हक्सले दुई सय एक रन बनाइसकेको थियो । डुमिनी ८५ रनमा अविजित रहे भने इम्रितले ३३ रन बनाए । यो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।

 
 
  
 

You may also like