काठमाडौँ । नेपाली सेनाले जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबारको आगजनी बारे स्पष्टीकरण दिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिदै नेपाली सेनाक युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले स्पष्टीकरण दिएका हुन् ।
थापाले तत्कालिन अवस्थालाई हेर्दा सेनाको कारवाही दुरुस्त र सटिक रहेको जवाफ दिएका थिए । उनले भने- ‘सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन्, सबैलाई स्पष्ट पार्न चाहन्छौं। राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो ।सेनाले लेस देन लिथल (कम घातक) नियन्त्रण उपाय अपनाएको थियो ।’
साथै उनले सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको र २-२ पटक सिंहदरबार छिर्न खोज्नेलाई सेनाले फर्काएको समेत दाबि गरे । थापाले सेनाले नागरिकमाथि प्रत्यक्ष आक्रमण नगरेको बताउदै त्यतिबेला राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई मुख्य प्राथमिकता दिएर सुरक्षामा ध्यान केन्द्रित गरेको बताए । उनले अगाडी भने- ‘सिंहदरबारका सबै तर्फबाट आगो फैलिएको अवस्थामा पनि ती तीन स्थानलाई जोगाउन सकियो भने सरकार सञ्चालनको मेरूदण्ड सुरक्षित रहन्छ भन्ने बुझाइ थियो । यदि डेटा सेन्टर जलेको भए, केही दिनभित्रै सम्पूर्ण सरकारी प्रणाली ठप्प हुने अवस्था आउँथ्यो । अहिले राज्यको तलब, भुक्तानी, लेखा सबै त्यहीँबाट सञ्चालन भइरहेको छ ।’ उपरथी थापाले उनले राष्ट्रका प्रमुख संरचनाहरूको सुरक्षामा अझ सतर्कता अपनाइने र भविष्यमा यस्ता घटना नदोहोरिने समेत प्रतिबद्धता जनाए ।
नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये प्रहरीको गोली लागेर २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ । सेनाका अनुसार बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जना रहेका छन् । सेनाले टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न नसकेको बताएको छ । त्यस्तै आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय,२५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको सेनाले जानकारी दिएको छ ।
यसैगरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ । त्यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन : नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।