काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रको अवलोकन गर्दै विभिन्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले नास्टले ३७ करोड बजेटमा २७ करोड प्रशासनिक र १० करोड अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको भन्दै नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव दिन निर्देशन दिएको बताएका छन् ।
उनले भनेका छन्-
१- नास्टमा २ घण्टासम्म छलफल र ल्यावहरु अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ । नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यहि हप्ता भित्र दिन निर्देशन दिएको छु । भवन र ल्यावहरु उच्च कोटीका छन् । भवन र ल्याव अनुसारको उच्चकोटीको काम हुनु पर्ने कुरामा जोड दिए ।
२- शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा ३ घण्टासम्म छलफल भयो । शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भर लागु हुने गरी कार्यविधी बनाउने, अनलाईन सिकाईको लागि डिजिटल शैक्षिक सामाग्रीहरु निर्माणमा जोड दिन कार्यक्रम बनाउने ।
३- पाठयक्रम विकास केन्द्रमा २ घण्टा छलफल भयो । सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको बिकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, सम्बिधान सम्बन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएको छु । आगामी बर्ष देखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहि अनुसार पाठ्यक्रम विकास गर्न निर्देशन दिएको छु ।