बुटवल । पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ।
वैशाख ८ गते मर्चवारमा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार यादवलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नेपाल–भारत सिमाक्षेत्रबाट खोजतलासपछि पक्राउ गरिएको हो।
पत्रकार विश्वकर्माले यादव नेतृत्वको ७/८ जनाको समूहले आफूलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
उक्त घटनापछि पत्रकारलाई न्याय दिलाउन र दोषीमाथि कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लबले वैशाख ९ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो।
पक्राउ नभएपछि प्रेस क्लबले तीन दिने आन्दोलन कार्यक्रम घोषणा गरेको थियो। त्यसअन्तर्गत वैशाख ११ गते बिहान १०:१५ बजेदेखि एक घण्टासम्म प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको थियो।
धर्नामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरिबहादुर थापा, तीर्थ कोइराला, उज्ज्वल शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायत पत्रकार तथा सञ्चारकर्मी संगठनहरूले ऐक्यबद्धता जनाएका थिए।