भारतको पहलगाम आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको शव बुटवल ल्याइयो, आजै अन्त्येष्टि गरिने

Shares

बुटवल।भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका बुटवलका ३२ वर्षीय सुदीप न्यौपानेको शव बुटवल ल्याइएको छ। उनी परिवारका सदस्यहरूसँग घुमघामका लागि भारत गएका थिए।

सुदीपको शव दिल्लीबाट लखनउसम्म हवाईमार्ग हुँदै ल्याइएपछि लखनउबाट बुटवलसम्म स्थलमार्ग भएर एम्बुलेन्समार्फत ल्याइएको हो। बुधबार साँझसम्म शव ल्याइने भनिए पनि एम्बुलेन्स यात्रामा समय लागेका कारण ढिलो भएको परिवारले जानकारी दिएको छ।

मंगलबार दिउँसो भएको सो आक्रमणमा सुदीपसहित २७ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका छन्। सुदीप आमा, बहिनी र ज्वाइँसँग पहलगाम पुगेका थिए।

बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरको मनकामना पथमा शव राखिएको छ। वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार आजै शवलाई त्रिवेणी घाटमा लगेर अन्त्येष्टि गरिने छ।

शव ल्याउन सुदीपका काका तथा वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेसहित परिवारका अन्य सदस्य सुनौलीसम्म गएका थिए। मृतक सुदीपलाई बिदाइ गर्न भारतको उत्तरप्रदेशबाट एक जिल्लाका जिलाधिकारी (डीएम) आफैं नेपाल आएका थिए, जसले नेपाली परिवारप्रति समवेदना प्रकट गरेका थिए।

सुदीपका बुवा स्थानीय भवानी माध्यमिक विद्यालय, बुटवल–१८ मा शिक्षक छन्। शिक्षक आन्दोलनका लागि उनी काठमाडौंमा थिए तर छोराको मृत्युको खबर पाएलगत्तै बुटवल फर्किएका हुन्।

सुदीपको वैवाहिक सम्बन्ध केही वर्षअघि टुटिसकेको थियो। अहिले उनी आफ्नी आमा र बहिनीहरूसँग बस्दै आएका थिए।

You may also like

This will close in 0 seconds