काठमाडौं । डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को शपथ ग्रहण समारोहमा ‘लफडा’ भएको छ । शपथ ग्रहण समारोहमा सुरु हुनै लाग्दा केहिबेर होहल्ला र लफडा भएको हो । प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ कार्यक्रम एक व्यक्तिले बिथोल्न खोजेको बताइएको छ ।
उक्त पार्टीको महाधिवेशनले अध्यक्षमा डा. बाबुरामसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । साँझ प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा नव निर्वाचितहरुको शपथ ग्रहण कार्यक्रम चल्दै थियो । त्यत्तिकैमा एक व्यक्ति मञ्चमा पुगेर शपथ खुवाउन लागेका बाबुरामसँग बम्किन थाल्छन् । डा.ले ‘बस्नुस् बस्नुस्’ भन्दै सम्झाउँदा पनि ती व्यक्ति मान्दैनन् ।
कार्यक्रममा लफडा हुने देखिएपछि शपथग्रहण गर्न ठिक्क परेकी नव निर्वाचित उपाध्यक्ष तथा बाबुरामकी छोरी मानुषी यमी भट्टराईले सम्झाउन खोजेको देखिन्छ । त्यसपछि केही हच्केका ती व्यक्ति पुनः मञ्चमा घुसेर बाबुरामतिर औंलो ठड्याउँदै कराउन थाल्छन् । बाबुरामले ‘तपाईले बेइज्जत नगर्नुस्, प्लिज बस्नुस्’ भन्छन् । त्यसपछि अर्कोतिर लागेका उनलाई माथि मञ्चबाट बाबुरामले ‘बस्नुस् न यार कस्तो मान्छे तपाई’ भन्छन् । तर, ती व्यक्ति आफ्नै सुरमा कराइरहन्छन्। त्यसपछि आक्रोशित हुँदै बाबुरामले कार्यकर्तालाई निर्देशन दिन्छन्, ‘उहाँलाई उता लैजानुस् !’ मञ्चबाट बाहिर निस्कन खोजेका डाक्टरलाई छोरी तथा उपाध्यक्ष मानुषीले केही सम्झाएपछि हँ भन्दै रोकिन्छन् । अनि दोहोर्याएर भन्छन्, ‘उहाँलाई बाहिर लैजानुस् ।’ ती व्यक्ति को हुन् र किन होहल्ला गरे भन्ने कुरा चाँहि अझै खुलेको छैन।
एकछिनको लफडापछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नव निर्वाचित अध्यक्ष डा. बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरे । नव निर्वाचित अध्यक्ष डा. भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराए । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो ।
पार्टी अध्यक्ष डा. भट्टराई सात सय ६१ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईले ७३ मत प्राप्त गरे । उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका छन् । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
नव निर्वाचित अध्यक्ष डा. भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जनक्रान्तिको अभियानको थालनी गर्ने बताए । आजदेखि नयाँ जनअभियान सुरु भएको उल्लेख गर्दै उनले समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन गराउन पार्टी सफल भएको बताए । यही फागुन १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष डा. भट्टराईले जानकारी दिए ।