शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो १७औं स्थापना दिवसको अवसरमा ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ। बुटवलमा प्रधान कार्यालय रहेको बैंकले ‘रन टु शाइन’ भन्ने नाराका साथ फागुन ११ गते राष्ट्रिय स्तरको दौड प्रतियोगिता गर्न लागेको हो।
शनिबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रतियोगिताको उद्देश्यबारे जानकारी दिँदै बैंकले विगत १६ वर्षदेखि वित्तीय कारोबारका साथै विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र सोही क्रममा दौड प्रतियोगिता गर्न लागिएको बताए।
राष्ट्रिय स्तरका धावकहरूको सहभागिता रहने यस प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख रुपैयाँ निर्धारण गरिएको छ। प्रतियोगिता तीन विधामा विभाजित हुनेछ: खुला तर्फ, स्थानीय ५० वर्षसम्म, र स्थानीय ५० वर्षभन्दा माथि।
पुरुष तथा महिला दुबै विधामा प्रथम स्थान हासिल गर्ने धावकलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ। द्वितीय स्थान प्राप्त गर्नेले जनही ४० हजार, तृतीयले २० हजार, चतुर्थले १५ हजार, र पञ्चम स्थान प्राप्त गर्नेले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
स्थानीय धावकहरूको सहभागिता वृद्धि गर्न ५ किलोमिटर दौड प्रतियोगिता पनि आयोजना गरिनेछ, जसमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिका खेलाडीहरू सहभागी हुन सक्नेछन्। यस विधामा प्रथम स्थान हासिल गर्नेलाई जनही १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार, र चतुर्थलाई २ हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइटमार्फत नाम दर्ता गर्नुपर्नेछ। बुटवलको कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भई मणिग्राम चोक हुँदै पुनः केन्द्रीय कार्यालयमै आएर समापन हुने यस प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघबाट स्वीकृति लिइसकिएको छ। साथै, स्थानीय पालिकासँग पनि सहकार्य गरिनेछ।
प्रतियोगिता व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी लिएको कखरा इभेन्टका प्रमुख कार्यकारी अधिकृत हिमबिक्रम केसीका अनुसार प्रतियोगिता व्यवस्थित बनाउनका लागि प्रहरी, प्रशासन, स्थानीय पालिकालगायत सबै पक्षसँग समन्वय गरिएको छ।