‘दीप गायन तारा’ प्रतियोगिता सुरु, २० जना फाइनलमा चयन

by समतल अनलाइन

बुटवल। रूपन्देही जिल्लाका विद्यार्थीहरूमा अन्तर्निहित गायनकला उजागर गर्दै पुरस्कृत गर्ने उद्देश्यले हरेक वर्ष बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गर्ने ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु भएको छ।

१२औं संस्करणअन्तर्गत शुक्रबार सम्पन्न छनोट चरणमा जिल्लाका विभिन्न ३१ विद्यालयका मावि तहका विद्यार्थीहरूले सङ्गीतसहित तथा सङ्गीतरहित गायन कला प्रस्तुत गरेका थिए। यस चरणबाट २० जना प्रतियोगीहरू दोस्रो तथा निर्णायक चरणका लागि छनोट भएका छन्। छनोट भएका प्रतियोगीहरूमा कालिका मानव ज्ञान माविकी स्मृति श्रेष्ठ, नमुना एभरग्रीनका नुरङ्ग सारू, श्री रुद्रपुर सेकेन्डरीकी सपना पुन, कान्ति माविकी क्रिस्टिना खनाल, प्यारामाउन्ट बोर्डिङका आरभ पौडेल, अन्नपूर्ण माविकी रितिका राई, श्री पशुपति माविका गौरव गुरुङ, इटलेक्च्वलकी नेहारिका ढुङ्गाना, समिट इङ्लिस स्कुलकी विशिका परियार, श्री गीर्वाण माविका दीपक तिवारी, ग्रिनप्लान्ट बोर्डिङका विशेष भूर्तेल, न्यू होराइजनका काव्य प्रधान, एभरेस्ट इङ्लिस बोर्डिङका सुवास गुरुङ, बुद्ध दीपकी शान्ति गुरुङ, गार्गी एकेडेमीका अभिमन्यु सुनार, सन मोडेल इङ्लिसकी दीक्षा पुन, देवदह बुद्ध पब्लिकका प्रिन्स कंडेल, श्री सिद्धार्थ मेमोरियलकी मिल्सा परियार, तिनाउ इङ्लिसकी ऐश्वर्या कार्की र न्यु इन्भाइन्मेन्टका असिम राना रहेका छन्। निर्णायक चरण फागुन ५ गते सोमबार विद्यालयमै आयोजना गरिनेछ।

प्रतियोगिताको विजेताले नगद रु. ३०,०००, दोस्रो हुनेले रु. २०,०००, तेस्रो हुनेले रु. १०,००० प्राप्त गर्नेछन्। साथै, दुईजना प्रतियोगीलाई प्रोत्साहन स्वरूप जनही रु. २,००० सहित शिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ। कार्यक्रम संयोजक श्याम बस्यालका अनुसार दीप बोर्डिङले १४ वर्षदेखि निरन्तर रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा वरिष्ठ सङ्गीतकार नारायणबहादुर थापा र वरिष्ठ आधुनिक गायक तेजु अर्याल निर्णायकको भूमिकामा रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल अभिभावक सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले विद्यालयका अतिरिक्त क्रियाकलापलाई अतिरिक्त नभई अनिवार्य मान्नुपर्नेमा जोड दिँदै दीप बोर्डिङले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै नेपाली भाषा, कला, र सङ्गीतमा योगदान पुर्‍याउने प्रतिभाहरू उत्पादन गर्न विद्यालय प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भविष्यमा कार्यक्रमलाई अझ परिष्कृत र भव्य रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम नेपाल अभिभावक सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। विशिष्ट अतिथि नेपाल अभिभावक सङ्घका केन्द्रीय सदस्य तथा रूपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, व्याब्सन बुटवल नगर समितिका अध्यक्ष मित्रहरि आचार्य, बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनी लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विद्यालयका उपप्राचार्यद्वय ज्ञानु थापा र कलाधर अर्याल, विभिन्न कक्षाका संयोजकहरू, शिक्षक प्रतिनिधि, पत्रकार तथा विद्यालयका अन्य पदाधिकारीहरू कार्यक्रमका सहभागी थिए।

दीप बोर्डिङका विद्यार्थीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए भने कार्यक्रम प्रशिक्षक किशोर थापाको नृत्य निर्देशन र विजय सापकोटाको सङ्गीत संयोजनमा सम्पन्न भयो। कार्यक्रम सञ्चालन शिक्षकद्वय छवि ज्ञवाली र विजय सापकोटाले गरेका थिए भने प्राविधिक व्यवस्थापन सन्दीप बस्याल, दिनेश धवल, रेखा आचार्य, सङ्गीता ज्ञवाली लगायतले गरेका थिए।

 
 
  
 

You may also like