बुटवल। ब्रिटिश एजुकेशन ग्रुप रुपन्देहीद्वारा संचालित ब्रिटिश ग्रामर स्कुल, रुपन्देही (नमस्ते एकेडेमी) ले सोमबार नयाँ विद्यार्थीहरूको अक्षरारम्भ सँगै एक भव्य साहित्यिक महोत्सवको आयोजना गरेको छ। यस अवसरमा वरिष्ठ लेखक र साहित्यकार जँगबहादुर शाह प्रमुख अतिथि थिए। महोत्सवमा मोफसलका विभिन्न साहित्यिक व्यक्तित्वहरूले विद्यालयका साहित्यमा रुचि राख्ने विद्यार्थीहरूसँग अन्र्तक्रिया र छलफल गरेका थिए, विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले जानकारी दिएका छन्।
कार्यक्रममा नेपाली साहित्यमा युवाको भूमिका, लेखक बन्नका लागि आवश्यक गुण र कर्म, आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन लगायतका साहित्यिक विषयमा साहित्यकार र विद्यार्थीहरू बीच परिचर्चा कार्यक्रम गरियो। व्यवस्थापक उमेश कँडेलले कार्यक्रमको उद्देश्य र समग्र संरचनाबारे थप जानकारी दिएका थिए।
महोत्सवमा नमस्ते एकेडेमीका कक्षा १० का विद्यार्थी प्रशान्त चौधरीले सृजित पुस्तक The Voice Within Me, कक्षा ७ का विद्यार्थी समशीतोष्ण अर्यालको Echo of Dragon’s Flame, र प्राइमरी तहका ३२ जना विद्यार्थीहरूको संयुक्त पुस्तक Whispers of Young Minds को विमोचन गरियो। यी पुस्तकहरूको समीक्षा र लेखकहरूको योगदानको पनि चर्चा गरिएको थियो।
यसै बीच, कार्यक्रमको एक आकर्षक अंशको रूपमा, लेखक र बाल साहित्यकारहरूले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै आफ्नो अनुभव र विचारहरू साझा गरे। यस क्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता थियो, जसले विद्यार्थीहरूको साहित्यिक रुचि र सोचलाई थप प्रोत्साहन दिएको जनाइएको छ।
साहित्यिक महोत्सवमा विद्यार्थीहरूको रुचि र स्तर अनुसारका पुस्तकहरूको प्रदर्शनी पनि गरिएको थियो। संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताएअनुसार, यस प्रदर्शनीमा विभिन्न विधाका पुस्तकहरूको समावेश गरिएको थियो, जसले विद्यार्थीहरूलाई विभिन्न साहित्यिक पद्धतिहरूसँग परिचित गराएको थियो।
कार्यक्रममा नेपाली संस्कृति, कला, साहित्य, भेषभूषा र परम्पराको संरक्षण र प्रचार गर्ने उद्देश्यले सरस्वती बन्दना र विविध नेपाली लोक सांस्कृतिक प्रदर्शनी पनि गरिएको थियो।