लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्साहका साथ मनाइयो

संविधानको पूर्ण कार्यान्वयन र अधिकार प्रत्यायोजनमा जोड

by समतल अनलाइन

दाङ । लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवका रूपमा भव्य रूपमा मनाइएको छ। प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो। राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश सभा परिसरमा आयोजित मुख्य समारोहमा विभिन्न समुदायका झाँकी प्रदर्शन गरिएको थियो भने मन्त्रालयका स्टलमार्फत सरकारले गरेका उपलब्धिहरू सार्वजनिक गरिएको थियो।

प्रदेश स्थापनाको अवसरमा संविधानले प्रदान गरेको अधिकारको पूर्ण कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइयो। संघीय शासन व्यवस्था लागू भए पनि प्रदेशलाई बलियो बनाउन संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्नु नहुने वक्ताहरूले उल्लेख गरे। संघ, प्रदेश, र स्थानीय तहबीच समन्वय गरेर मात्र प्रदेशलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरियो।

समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले संघीय शासन प्रणालीको सार जनताको बलियो शासन रहेको बताए। जनप्रतिनिधिहरू जनताको सेवक भएको उल्लेख गर्दै उनले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘जनताको शासन हो, यहाँ जनताकै जनादर्शन हुनुपर्छ।’

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले उदाहरणीय रूपमा काम गरिरहेको बताए। संघीय कानुन निर्माण र मापदण्ड तर्जुमा गर्न संघीय सरकारसँग समन्वय आवश्यक रहेको उनको भनाइ छ। उनले प्रदेशको कार्यसम्पादनलाई प्रभावकारी बनाउन संघीय सरकार र स्थानीय तहसँग सहकार्य अपरिहार्य रहेको बताए।

नेपाली कांग्रेसका दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउन ध्यान दिनुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘गाली हामीले खानुपर्ने, तर अधिकार काठमाडौंमै सीमित रहने? संविधानले अधिकार तलसम्म पुग्छ भने पनि व्यवहारमा अझै केन्द्रमै सीमित छ।’ प्रदेशलाई सशक्त बनाउन अधिकार प्रत्यायोजन अनिवार्य रहेको उनले बताए।

प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताए। पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले थप ऐतिहासिक कार्य अघि बढाउनुपर्ने धारणा राखे। नेकपा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए। राजनीतिक स्थिरता कायम गर्दै प्रदेशलाई विकासको गतिमा अघि बढाउन प्रदेश सरकारले सार्थक प्रयास थालेको उनको भनाइ थियो।

प्रदेश स्थापनाको अवसरमा ११ वटा झाँकी प्रदर्शन गरिएका थिए। जसमा शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी प्रथम, गढवाको पञ्चेबाजा झाँकी दोस्रो तथा राप्ती गाउँपालिकाको झुम्रा नाच र राजपुर गाउँपालिकाको काहरवा नाच तेस्रो स्थानमा रहे।

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लगायतले आफ्नो कार्य सम्पादन झल्काउने स्टलहरू राखेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ अधिकृत गंगाधर पाण्डेले गरेका थिए।

 
 
  
 

You may also like