काठमाडौं । बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वन’ को प्रदर्शन तत्कालका लागि रोक्न जिल्ला अदालत काठमाडौँले आदेश जारी गरेको छ । डायस्परा इन्टरटेन्टमेन्ट प्रालिले चलचित्र विकास बोर्ड र फिल्म निर्माता दुई कम्पनीविरुद्ध फिल्मको नाम र कथा हुबहु चोरी गरेको भन्दै मुद्दा हालेको थियो ।
‘अदालतले छलफलको टुंगो नलागेसम्म फिल्म प्रदर्शन गर्नु र नगराउनु भनी आदेश दिएको छ,’ अदालतको आदेशमा भनिएको छ । फिल्म कम्पनीलाई छलफलका लागि २२ गते अदालतमा उपस्थित हुन भनिएको छ। ‘एक्टर : टेक वन’ को विवाद केही समय अगाडिदेखि चलिरहेको छ ।
रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ । फिल्मको नाम हुबहु चोरी गरेर मौलिक जस्तो देखिने गरि कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको आरोप रिटमा लगाइएको छ ।