बाढीपहिरोमा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता

by समतल अनलाइन

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको मङ्गलबारको बैठकमा उहाँले विपदमा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउनुभयो ।

उहाँले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिनुभयो । “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उहाँले भन्नभुभयो ।

बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उहाँले बताउनुभयो ।

पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका बताउनुभयो । उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उहाँले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like