सामुदायिक विद्यालयमा ‘टिफिन’ बक्स वितरण

by समतल अनलाइन

सैनामैना । सैनामैना नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर सामुदायिक विद्यालयमा विभिन्न कार्यहरु गरिरहेको छ । जस अन्र्तगत नगरले सामुदायिक विद्यालयका बालबालिकाहरुका लागि टिफिन बक्स वितरण गरेको छ । आर्ईतबार एक कार्यक्रमको आयोजना गरी सैनामैनामा रहेका सामुदायिक विद्यालयहरुमा करिब २ हजार ९ सय ५ वटा टिफिन वितरण गरेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख चित्र बहादुर कार्कीले विद्यालयमा खाने गरिएका जङ्कफुड्लाई निरुत्साहित गरी साना वालवालिकाहरुलाई घरमा तयार गरिएको खाजा खानेवानीको विकास गर्न टिफिन वक्स वितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘ घरमा तयार गरिएको खाजा विद्यार्थी भाईबहिनीहरुले विद्यालयमा लिएर आए मात्र जङ्कफुड् निरुत्साहित गर्न सहज हुनेछ ।

विद्यालयमा जङ्कफुड् पुर्ण रुपमा निशेधित गर्न संस्थागत विद्यालयहरुलाई पनि निर्देशनात्मक आग्रह गरिने बताउनुभयो । उहाँले शिशु देखी कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि बक्स वितरण गरिएको बताउँदै एक हप्ता पछि विद्यालयमा अनुगमन गरिने बताउनुभयो । नगर प्रमुख कार्कीले जङ्कफुड्ले बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको उल्लेख गर्दै यस तर्फ अभिभावक, विद्यार्थी लगायत विद्यालय परिवार समेत सचेत रहन आग्रह गर्नुभयो । कार्कीले विद्यालयमा टिफिन वितरण गर्दा प्रशिक्षणमुलक तरिकाले अभिभावकहरुलाई घरमा तयार गरिएको खाँजा विद्यालयमा पठाउने प्रतिबद्धता जनाउने गरी वितरण गर्न विद्यालयहरुलाई सुझाव समेत दिनुभयो ।

नगर उपप्रमुख बिना रानाका अनुसार नगरले विद्यालयको भौतिक विकासमा समेत जोड दिएको बताउनुभयो । रानाले सामुदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षा कायम गर्नका लागि विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्थापन, छात्राहरुलाइ आवश्यक पर्ने सेनेटरी प्याड लगायतका कार्यहरुलाई छिट्टै व्यवस्थापन गरिने जानकारी गराउनुभयो ।

नगर शिक्षा समितीका सदस्य एवम् रामापुर माविका प्रध्यानध्यापक कृष्ण प्रसाद पौडेलले औपचारिकताका लागि मात्र नभई पुर्ण कार्यान्वयका लागि सबैको सहयोग र सहकार्य आवश्यक हुनुपर्नेमा जोड दिनुभयो । साथै नगरले अनुगमनलाई प्रभावकारी ढंगले गर्नुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै जनकल्याण माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरीले टिफिन बक्स कार्यक्रमले सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले यो कार्यक्रमलाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि अभिभावक,विद्यालय परिवार र स्वयम् विद्यार्थीको समेत महत्वपुर्ण भुमिका रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘ यो कार्यक्रमले स्वास्थ्यमा सुधार ल्याउँछ । घरमा जे पाकेको छ, त्यही टिफिन बक्समा राखेर बालबच्चालाई विद्यालय पठाऔँ ।’ जनचेतना माविका अध्यक्ष निर बहादुर पुलामीले विद्यालयहरुका अध्यक्षहरु बिचमा पनि संचार र अनुभव साटासाट हुन जरुरी रहेको बताउनुभयो । सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तनका लागि नगरले चालेका कदमहरु सर्हानीय रहेको उल्लेख गर्नुभयो । नगर कार्यालय बुद्धनगरमा भएको कार्यक्रममा नगर शिक्षा समिती सदस्य बिमला अर्याल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रध्यानध्यापक लगायतको सहभागितामा टिफिन वितरण गरिएको हो । गुणस्तरीय शिक्षा कायम गर्नका लागि नगरपालिकाले विद्यालयमा आईसिटीद्धारा अध्यापन गराउन समेत सुरु गरिसकेको छ । सैनामैनामा १८ वटा सामुदायिक विद्यालय रहेका छन् ।

 
 
  
 

You may also like