नेदरल्याण्डससँग नेपाल पराजित, दोस्रो खेल श्रीलंकासँग

काठमाडौं । आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्याण्डससामु १०७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

सो लक्ष्य नेदरल्याण्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक–एक विकेट लिए ।

यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे ।

यस्तै करन केसीले १२ बलमा १७ रन जोडे । गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए । बलिङतर्फ नेदरल्याण्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई–दुई विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल जेठ २९ गते श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्ने छ ।

 
 
  
 

You may also like