तत्कालीन नगर प्रमुख विष्टसहित १० जनाविरुद्ध एक करोड ३४ लाखको भ्रष्टाचार मुद्दा

by समतल अनलाइन

कञ्चनपुर । महाकाली नदीबाट निर्माण सामग्री उत्खननमा नियमविपरीत छुट दिएको आरोपमा तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्टसहित १० जनाविरुद्ध आज (मंगलबार) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष ०७६/७७ मा महाकाली नदीबाट निर्माण सामग्री उत्खननका लागि ठेक्का पाएको भवानी कन्स्ट्रक्सनलाई नियमविपरीत एक करोड ३४ लाख ९७ हजार छुट दिने निर्णय गरी राजस्व चुहावट भएको भन्दै छुट रकमको दोब्बर जरिवाना र सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । तत्कालीन नगर प्रमुखसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीलाई पनि सोही बराबरको मागदाबी गरिएको छ ।

स्तै नगरपालिकाले रोयल्टीमा छुट दिनका लागि गठित कार्यदलका सदस्य तत्कालीन वडाध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालयसिंह ऐर, लेखा अधिकृतद्वय गोविन्द उपाध्याय र विक्रम भण्डारी तथा नायब सुब्बा नरेन्द्रदेव भट्टका नाममा पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । उनीहरुमाथि संघीय आर्थिक ऐन तथा प्रादेशिक आर्थिक ऐन विपरित ८३ दिनको छुट दिन सकिने भन्ने गलत प्रतिवेदन बनाएको आरोप लागेको छ । उनीहरुलाई पनि चुहावट भएको राजस्वको दोब्बर जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।

छुट पाउने निर्माण कम्पनी भवानी कन्सट्रक्सनका सञ्चालक ईश्वरी भट्ट, केशवराज भट्ट र पुष्पराज भट्टका नाममा पनि मुद्दा दर्त्ता भएको अख्तियारले जनाएको छ । राजस्व चुहावटमा मतियार भइ काम गरेकाले उनीहरुमाथि पनि चुहावट भएकै राजस्वको दोब्बर जरिवाना र कैद सजाय मागदाबी गरिएको छ । ईश्वरी भट्टको मृत्यु भइसकेकाले दाबी गरिएको विगो निजकी श्रीमती खगेश्वरी भट्टबाट असुल उपचार गर्न मागदाबी गरिएको छ ।

महाकाली नदीबाट निर्माण सामग्री उत्खननका विषयमा अख्तियारले यसअघि पनि तत्कालीन नगर प्रमुख विष्टसहित प्रमुख प्रशासकीय अधिकृत लगायतका नाममा मुद्दा दर्ता गरेको छ ।

 
 
  
 

You may also like