भीमगिठेका प्रहरी इञ्चार्ज पौडेलको हत्या घटना : होटल सञ्चालक आमा–छोरा जेल चलान

by समतल अनलाइन

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इञ्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको उज्जवल पौडेलकाे हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमा–छोरालाई पुर्पक्षका लागि चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।

कुँवरको होटलमा खाजा खान गएका वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेल गत साउन ८ गते राति होटलमै मृत फेला परेका थिए । होटलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटल एन्ड खाजाघरमा गएको र होटलमा सञ्चालक आशा कुँवरसँग विवाद भएपछि आमाछोराले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । विवादका क्रममा आमाछोरा मिलेर पौडेललाई गम्भीर तरिकाले कुटपिट गरी सलले पासो लगाएर हत्या गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको उनले बताए । पौडेलले घाँटीमा लगाएको सुनको सिक्री समेत लुटेर लुकाएको अनुसन्धानबाट खुल्न आएको छ । पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटलको भान्छामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

 
 
  
 

You may also like