मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेल आज नेपाल र बंगलादेशबीच हुँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र घरेलु टोली बंगलादेशबीच हुँदैछ ।
नेपाल र बंगलादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुरु हुनेछ । गएको वर्ष भदौमा काठमाडौँमा भएको साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशले एक अर्काबीच मैत्रीपूर्ण दुई खेल खेल्न लागेका हुन् ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा बंगलादेशले नेपाललाई ३–१ गोलले पराजित गरेको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।

खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले आजको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । त्यस्तै, बंगलादेश मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले साफ च्याम्पियनसिपको फाइनलमा आफूहरुले हराएको भए पनि नेपाल बलियो टोली रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतवार हुनेछ ।

 
 
  
 

You may also like