बुटवलका युवा अर्जुन खरेललाई ” युवा सोसल वर्कर अफ द एयर ” अवार्ड

by समतल अनलाइन

बुटवल । युवा समाजसेवी अर्जुन नेपाल ”युवा सोसल वर्कर अफ द एयर” अवार्ड द्वारा  सम्मानित भएका छन् । आइताबार राजधानीमा आयोजित ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को अवसरमा सम्मानित भएका हुन ।
उनि नमस्ते नेपालका संस्थापक अध्यक्ष हुन ।

शंकरनगरको न्यू लाइट स्कूल पढ्दादेखि सामाजिक काममा जोडिए । आफू कक्षा आठमा पढ्दै गर्दा अण्डर सिक्सटीनस् उमेरका साथीहरुसँग मिलेर नृत्य,हाजिरी जवाफ,म्याराथन प्रतियोगिताको संयोजन गरेर सबैलाई चकित बनाए । बिनापैसा त्यत्रो कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्नु त्यतिबेला चानेचुने कुरै थिएन ।

बाल क्लव चलाए । त्यसको संयोजक भए । न्यू लाइट आवासीय माविबाट २०७१ सालमा दोस्रो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले सोही कलेजबाट व्यवस्थापनमा कक्षा ११÷१२ उत्तीर्ण गरे । कलेजमा पढ्दै गर्दा साहित्यिक गतिविधिहरुमा पनि संलग्न रहे । नवदीप साहित्यिक स्मारिका प्रकाशन गरे । किशोरवय पुग्दैगर्दा नमस्ते नेपालको सुरुआत् गरे । नमस्ते नेपालमा रहेर सामाजिक कामको निरन्तरता दिए । नमस्ते नेपालको संस्थापक अध्यक्ष हुन् उनी । तिलोत्तमा नगरपालिकाले उत्कृष्ट सामाजिक संस्थाको रुपमा २०७६ सालको पुषमा नमस्ते नेपाललाई सम्मान गरेको थियो ।

यो संस्थामा अहिले करिव तीन सय ५० सदस्यहरु छन् । नैतिकवान,विवेकशील व्यक्तित्व, अबको नेपाल युवाको नेतृत्व नाराका साथ अघि बढिरहेको उक्त संस्थाले अनमोल इभेन्ट,उम्मेदवारहरुकाबीच चुनावी घोषणा,प्रतिवद्धता समीक्षा कार्यक्रम अनि तराइ र पहाडलाई मिलाउने गरी धोती–टोपी साटासाट कार्यक्रमको आयोजनाले अर्जुन र उनको संस्थाको कद बढाएको पाइन्छ । अर्जुनको संस्थामा पैसा छैन तर साथीहरुबीच मेलमिलाप छ । एकता छ । सहयोगी भावना छ । सामुहिक एवम् सामाजिक काम गरौं भन्ने सकारात्मक भावना छ । तराई मधेसमा कहिले निःशुल्क स्वास्थ्य शिविर लिएर पुगेका छन् । कहिले जन्मदिनको अवसरमा वृक्षरोपण कार्यक्रमलाई दीगो बनाउने अभियानमा जुटेका छन् । घरि नेपाल बन्द गर्ने चलनलाई सदाका निम्ति बन्द गरौं भन्ने अभियानमा समय खर्चिएका छन् । कहिलेकाँही आफ्ना साथीहरुको क्षमता अभिवृद्धि गर्ने तालिमको आयोजना गरेका छन् ।

देउसी भैलो कार्यक्रमको आयोजना गरी उठेको दानबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् पहाडका विद्यालयहरुमा । प्रथम अधिवेशनको अवसरमा नमस्ते दर्पण मुखपत्र छापेर आफ्ना कामहरुलाई दस्तावेजीकरण गरी प्रचार गरेका छन् । नयाँ र पुराना पुस्तालाई जोड्ने कार्यक्रमको आयोजना गरी पाका पुस्तालाई सम्मान गरेका छन् । नयाँ पुस्तालाई सिर्जनशील बन्न उत्प्रेरित गराएका छन् । अर्जुन खरेलको नागरिकताको नाम नितेश हो । साथीहरुले चिन्ने नाम फेरि अर्जुन हो । गुल्मीको आँपचौरबाट बसाई सरेर आएका थिए रुपन्देहीको शंकरनगरमा उनका बाबाआमाहरु । दुई दाजु र एउटी दिदीका कान्छा भाइ हुन् अर्जुन । उनका बाबाआमा किसानी गर्छन् । दाजुहरु कतारमा काम गर्दैछन् ।

 
 
  
 

You may also like