रवि लामिछानेको पार्टीमा पहिरो : रास्वपाका चितवन सभापतिले दिए राजीनामा

by समतल अनलाइन
Shares

चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र चरम व्यक्तिवाद हावी भएको भन्दै राजीनामा दिएका छन् ।

पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकाले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको जानकारी दिए । गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाएका छन् ।

‘पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोंच थियो, उहाँसँग समय मिलेन’ सापकोटाले भने, ‘महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भन्नु भयो, दुई–दुई सांसद र सबैभन्दा बढी समानुपातिक मत आएको चितवनलाई नै लान्छना लगाउनु भयो ।’

उनले रवि लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई वेवास्ता गरेर हिँड्ने गरेको कुनै मूल्य मान्यता र सरसल्लाह र बैठक समेत नभएको बताए । ‘यसरी कसरी संगठन बन्छ ? उहाँहरुलाई पनि जिल्ला समिति चाहिएको जस्तो लागेन,’ सापकोटाले भने, ‘मलाई लाग्छ देशभरमा जहाँ जहाँ समिति बनेका छन् तिनको हालत यस्तैं होला, कुनै भूमिका छैन ।’

राजीनामा दिएका सभापति सापकोटाले चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै भए पनि चुनावपछि भने गतिविधि राम्रो नभएको बताए । ‘माथिबाट खटाइएका र तोकिएका केही मान्छे बोकेर मात्रै पार्टी चल्छ भने चल्न दिनु पर्छ’ सापकोटा भन्छन्, ‘कुनै पनि पार्टीमा यस्तो अभ्यास छैन, यो पार्टीमा मात्रै केही सीमित घेराले पार्टी चलाउने काम गरेको छ ।’ सापकोटाले अब स्वतन्त्र भएर आफ्नो पेशा व्यवसाय नै गरेर बस्ने अठोट लिएको बताएका छन् ।

You may also like

This will close in 0 seconds