बुटवलमा सोनाम ल्होसारको अवसरमा तामाङ भेषभुषा पहिचान र झाँकीसहितको र्याली

by समतल अनलाइन

बुटवल।तामाङ नयाँ वर्ष २८५९ औ सोनाम ल्होछारको पर्वको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ भेषभुषा र पहिचानसहितको झाँकी निकालेको छ ।

यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो बर्गलाई स्वागत गर्ने रुपमा नयाँ वर्ष सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मुख्य दिनमा आईतबार सोनाम ल्होछार पुष्पलाल पार्कमा दिप प्रज्वलन गरि शान्तिपद यात्रा शुरु गरेका छन । र्याली दीपनगरस्थित तामाङको पुजास्थानमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने जिल्ला अध्यक्ष राजेश घिसिङले बताए ।

विसं २०५८ सालमा स्थापना भई तामाङ जातीलाई एकतावद्ध गरी रचनात्मक कार्यक्रम गर्दै आएको उनले दाबी गरे । ‘युवापुस्तालाई तामाङ भाषा लिपि सिकाउने, धर्मसंस्कार, भेषभुषा संरक्षणका लागि विविध कार्यक्रमहरु गर्दै आएको छौ ।’– उनले भने ।

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातिको आआफनै ईतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अप्नाउने जातिमा पर्ने दाबी गरे ।

नेपालमा २०१३ सालमा संस्थागत रुपमा देशभर संगठित भएर काम भएको उनले बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष विरमान लामाले रुपन्देहीमा सानो संख्यामा रहेका तामाङहरुबाट जातिय पहिचानसंगै सामाजिक कामहरु गर्दै आएको बताए ।

मन्जुश्रीले उपत्यका बस्तिलाई बस्न योग्य बनाउदादेखि नै तामाङ काठमाडौ वरपर बसोबास गर्दै आएको हुदा पनि उनिहरुको पहिचान भएको छ ।

नेपालका ९ वटा जिल्लामा तामाङहरु धेरै संख्यामा बसोबास गर्दै उनिहरुको चिनिएको उनले बताए । तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको उनले बताए ।

नेपालमा तामाङहरु १ सय ६० भन्दा बढि थरहरु भने ३ प्रकारको भाषा बोल्छन ।

देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन । रुपन्देहीमा २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिन्छ ।

 
 
  
 

You may also like