बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

by समतल अनलाइन

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी केसीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले गृह मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले केसीलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । आज केसीलाई गृहले निलम्बन गरेको हो । उनीमाथि थप अनुसन्धान हुनेछ ।’

मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई जिम्मेवारीबाट हटाइएको हो । बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी केसी पक्राउ परेका थिए । सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

 
 
  
 

You may also like