“सरकारी निती सहज भए पर्यटन उद्योगको सम्भावना बढी छ”

by समतल अनलाइन

“सरकारी निती सहज भए पर्यटन उद्योगको सम्भावना बढी छ”
बुटवल। अन्य उद्योगहरुमा कच्चा पदार्थ र ढुवानीको ठुलो लगानी हुने भएपनि पर्यटन उद्योगमा कच्चा पदार्थ र ढुवानी आवश्यक नपर्ने भएकाले नेपाली माटोमा पर्यटन उद्योग सबैभन्दा उपयुक्त हुने सरोकारवालाहरुले बताएका छन्।

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सन्दर्भमा आयोजित पर्यटन उद्योगः विकास र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल जस्तो औदोगिक लगानी महङ्गो पर्ने देशमा पर्यटन उद्योग सजिलै सफल हुन सक्ने बताए। उनीहरुले नेपालको संस्कृति र प्रकृति आफैमा अमुल्य उपहार भएको भन्दै त्यसलाई मार्केटिङ र ब्राण्डिङ गर्न सके पर्यटन उद्योग सफल हुने बताए।

कार्यक्रममा पर्यटन उद्योग स् विकास र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्दै डा हरिध्वज राईले पर्यटन व्यवसाय मात्र नभएर विज्ञान पनि भएको बताए। उनले नेपालमा पर्यटन विकासका लागि प्राकृतिक उत्पाद, साँस्कृतिक उत्पाद, आर्कोलजिकल साईड, पर्यटन मेला, हेल्थ टुरिसम उत्पाद गर्न सकिने उल्लेख गरे। पर्यटन उद्योगमा लगानी भएपनि नेपालमा पर्यटन उद्योगको माकेटिङ र ब्राण्डिङ हुन नसकेको उनको भनाई छ।

प्रतिस्पर्धात्मक लाभको कुरा गर्दा नेपालमा पर्यटनको सम्भावना प्रचुर रहेको बताउँदै उनले पर्यटनको अन्य कुनै विकल्प नभएको बताए। उनले नेपालमा खैरो कपाल र सेतो छालालाई मात्र पर्यटककारुपमा चिन्ने प्रबृत्ति रहेको बताउँदै राईले पछिल्लो समय जस्ले खर्च गर्न सक्छ उ नै वास्तबिक पर्यटक रहेको बताए।

पर्यटन ब्यवसायी माधव नेपालले पर्यटन विकासमा सिद्धान्त धेरै राम्रो भएपनि ब्यवहारमा उतार्न कठिनाई देखिएको बताए। धेरै काम गर्न सकिने सम्भावना रहेको भन्दै उनले रामापिथेकसको विकास, पिथेकसको मुर्ति स्थापना गराएर प्रचार गर्ने, कर्णेल उजिरसिहको बिशाल मुर्ति, जितगढीबाट फुलबारीसम्म जाने सुरुङमार्ग जस्ता विषयलाई प्रचार गर्न सके पर्यटनको प्रवद्र्धन हुन सक्ने बताए।

लुम्बिनी प्रदेशका पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले चुरेको रेन्ज नै पर्यटन विकासको सम्भावना भएको बताए। १२ जिल्लामा गन्तव्य पहिचान गरिरहेको जानकारी दिँदै लुमिबनी प्रदेश पर्यटनको सम्भावना नै सम्भावना भएको प्रदेश भएको दाबी गरे।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले ईश्युगत रुपमा काम गर्नुपर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरुले आआफनो भुमिकालाई बुझ्ने र काम गर्न जरुरी रहेको बताए। बहसलाई केवल बहसमा नराखि अब ब्यवहारमा लैजानुपर्ने उनले बताए।

पर्यटन ग्रामिण विकास तथा शहरी विकास मन्त्रालयका सचिव डा। जक्कि मोहमद अन्सारीले उद्योग र पर्यटनको प्रवद्घनमा महोत्सवको महत्व रहेको बताउँदै कार्यान्वयन पाटोमा कमजोरीलाई हटाउने गरि लाग्नुपर्ने बताए।

औद्योगिक प्रदर्शनीको पर्यटन उपसमितिका संयोजक राजु घिमिरेले सहअस्तित्व, सहकार्य र सहमतिलाई लिएर प्रदेश सरकार लागेको उनले बताए।

 
 
  
 

You may also like