मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउन आग्रह

by समतल अनलाइन

बुटवल।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई भेटेर मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउन आग्रह गर्नुभएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँगको भेटमा प्रमुख पाण्डेयले मोतीपू औद्योगिक क्षेत्रको काम अघि बढाउनका लागि आग्रह गर्नुभयो ।

उहाँले ड्रोनबाट नापजाँच सकिएपछिको प्रतिवेदन छिटै सम्बन्धित पालिकाहरुमा पठाइदिन आग्रह गर्नुभयो ।
‘हामीले औद्योगिक क्षेत्रको जग्गा नापजाँच तथा सहजीकरणका लागि बनाएको कार्यदलले आफ्नो काम पूरा गरिसकेको छ, नगरप्रमुख पाण्डेयले भन्नुभयो–अब औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नापजाँचपछिको प्रतिवेदन सम्बन्धित पालिकामा पठाएपछि पालिकाहरुले प्रतिवेदनलाई पास गरेर औद्योगिक क्षेत्र बनाउन योग्य क्षेत्र यकिन हुनेछ र जग्गा यकिन भएपछि बाँकी काम अघि बढ्नेछ ।’

नगरप्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाको जग्गा औद्योगिक क्षेत्रअन्तरगत पर्ने भएकाले सम्बन्धित पालिकाभित्रको जग्गा घटाउनुपर्ने वा बढाउनुपर्ने भएमा पालिकाले निर्णय गरेर संघीय सरकारलाई पठाउने र सोहीअनुसारकोे जग्गा औद्योगिक क्षेत्रका लागि उपयोग हुने गरी निर्णय हुने बताउनुभयो ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि बुटवल उपमहानगरपालिकाको अगुवाई तथा संयोजनमा गत भदौ १० गते जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो ।
लामो समय बसोबास गरेका र लालपूर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि छ वर्षदेखि अलपत्र मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो ।

पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।

 
 
  
 

You may also like