राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीमाथि डोजर चलाउँछ : राजेन्द्र लिङ्देन

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तामा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका हुन् । उनले काठमाण्डौ उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाए जस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताए । नागरिक आयोग गठन गरी विसं २०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने उनको भनाइ थियो ।

लिङदेनले भने, ‘बालेनले काठमाण्डौको अवैध संरचनामाथि डोजर चलाए जस्तै राप्रपालाई भ्रष्टाचारिमाथि डोजर चलाउने इच्छा छ । फागुनसम्म अस्तिका सबै सांसदले तलब भत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । योभन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन ।’

अध्यक्ष लिङ्देनले भ्रष्टाचारको विरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे । उनले आफू संसदमा एक्लो भएकाले आउँदो चुनावबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह पनि गरे । आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारलाई पनि जिताउन उनको आग्रह थियो ।

अध्यक्ष लिङ्देनले पुराना दलहरूलाई फेरि पनि मतदान गर्नु देशलाई बरबाद गर्नु भएको टिप्पणी गरेका छन् । उनले कांग्रेस र कम्युनिस्त मतदातालाई आफ्नो पार्टी नछाडे पनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे । उनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेको दाबी गर्दै व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने जिकिर गरे । ठूला राजनीतिक दलहरूको विकल्पको रूपमा राप्रपा रहेको उनको भनाइ थियो ।

 
 
  
 

You may also like