चर्चित स्वतन्त्र उम्मेदवारदेखि प्रमुख दलका बागीसम्म : कसले कुन चुनाव चिह्न पाए ?

by समतल अनलाइन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुलाई आज (बुधबार) चुनाव चिह्न प्रदान गरेको छ । आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारलाई चिह्न प्रदान गरेको हो ।

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिनिधिसभा चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । डडेल्धुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका ३ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् । फिर्ता लिनेमा एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले उम्मेदवारी फिर्ता लिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिएका छन् ।

यस्तै नेकपा एमालेबाट टिकट नपाएपछि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । पार्टी कमिटीबाट उम्मेदवारका रुपमा सिफारिस भए पनि एमाले अध्यक्ष केपी ओलीले भुसाललाई उम्मेदवार बनाएका थिएनन् । पार्टीले उम्मेदवार नबनाएपछि एमाले त्याग गर्दै रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई निर्वाचन आयोगले त्रिभुज चुनाव चिह्न दिएको हो ।

‘लोकतन्त्र, सामाजिक न्याय र विकासको संगम त्रिभुज चुनाव चिह्न प्राप्त भएको छ’, भुसालले भने, ‘अब त्रिभुजमा भोट माग्न बाटो खुलेको छ ।’ भुसाललाई सत्ता गठबन्धनको समेत समर्थन रहने छ । सो क्षेत्रमा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार जोशीलाई चुनाव चिन्ह कैंची दिएको हो । स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनेका जोशीका छोरा दीपकले पनि चुनाव चिन्ह कैंची पाएका थिए । जोशीले भने, ‘स्थानीय निर्वाचनमा पनि हामीले कैंची चुनाव चिन्ह पाएका थियौं । अहिले मैले पनि कैंची नै पाएको छ । यसले प्रचारका लागि सजिलो हुन्छ ।’

तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट एकबहादुर राना उम्मेदवार छन् । ०७४ को निर्वाचनमा पौडेललाई असहयोग गरेको आरोपमा जोशी कांग्रेसबाट निष्काशित भएका थिए । यसैगरी झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले बुधबार आफूलाई पुतली चुनाव चिह्न दिएको उम्मेदवार पाठकले बताए ।

यस्तै चितवन–३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । सत्तारुढ गठबन्धनको भागबण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले उम्मेदवारी फिर्ता गरेर आफूलाई समर्थन गरेको कोइरालाको दाबी छ । कोइरालालाई कांग्रेसले कारबाही गरिसकेको छ ।

यसैगरी चितवन–३ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह पाएका छन् । जगन्नाथ पौडेलले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा भुइँकटहर चिन्ह पाएका थिए । यो पटक पौडेललाई एमालेको समेत समर्थन रहेको छ ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले चुनाव चिन्ह माछा पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले टिकट नदिएपछि गायक श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले गत स्थानीय तहको निर्वाचन लगत्तै क्षेत्र नम्बर ६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् । एमालेकी शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिन्ह पाएकी हुन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ । चौधरीले स्वतन्त्र उम्मेदवारी दिएको बताए पनि उनले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लिएकी हुन् ।

यसैगरी नेकपा एमालेबाट विद्रोह गरेका नेता रामवीर मानन्धरले घण्टाघर चुनाव चिह्न पाएका छन् । मानन्धरले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको टिकट नदिएपछि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।‘मेरो चुनाव चिह्न घण्टाघर कायम भएको छ’, बुधबार निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि रातोपाटीलाई उनले बताए । सो क्षेत्रमा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।

यस्तै काठमाडौंँ क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी दिएका यादवलाल कायस्थले चुनाव चिन्ह पानीको जार पाएका छन् । काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षणको अभियन्ता रहेका कायस्थले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसैगरी रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्यान्ड पाइप (हातेकल) कायम भएको छ । साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले चुनाव चिन्ह ‘माछा’ पाएका छन्। यस्तै कैलाली प्रदेश सभा (२) मा स्वतन्त्र उम्मेदवारी दिएका क्षितिज भण्डारीले चुनाव चिन्ह ‘केरा’ पाएका छन् ।

 
 
  
 

You may also like