तिलाेत्तमाद्वारा धानवालीमा समस्या देखिएपछि वाली उपचार शिविर

by समतल अनलाइन

बुटवल । किसानले लगाएको धान खेतीमा समस्या देखिन थालेसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वाली उपचार शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले किसानहरूले धान खेतीमा समस्या देखिएकोले शिविर सञ्चालन गरेको बताए । उनले किसानहरूले लगाएको धान पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचान सहित उपचारको प्रबन्ध मिलाउनको लागि शिविर सञ्चालन गरिएको बताए । उनले यहाँ देखिएको समस्याको रिपोर्ट अनुसार नगरपालिकाले तत्काल केही व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

राष्ट्रिय गहुबाली अनुसन्धान कार्यक्रमका बालिरोग वैज्ञानिक लक्ष्मण अर्यालले यस क्षेत्रमा मुख्य गरी खैरो थोप्ले रोग र फेद डढुवा रोल देखिएको बताए । उनका अनुसार खैरो थोप्ले रोगले पातमा समस्या आउने र पात डढाउने काम गर्दछ भने शीत फ्लाईड (फेद डढुवा) रोगले यसमा फेदबाट सुरु हुने र धानको रुख नै सुक्दै जाने बताए ।उनले अहिलेको अवस्थामा यी रोगलाई विषादीको प्रयोगबाट नियन्त्रण गर्न सकिने भए पनि बिउ छनोटमा ध्यान दिएमा यो समस्या भोग्नु नपर्ने बताए ।

राष्ट्रिय गहुबाली अनुसन्धान कार्यक्रमका कीट वैज्ञानिक विनीता शर्माले यस क्षेत्रमा मिलिबग नामक किराको समस्या रहेको बताइन् । उनले यो रोगको कारणले धानको बिरुवा कमजोर हुने, गाँज हाल्न नसक्ने, पात डढ्ने, पहेँलो र कमजोर हुने हुँदा यसको समाधानका उपायको बारेमा स्थानीयलाई बताएको बताइन् । उनले यो समस्यालाई यो वर्ष नै समाधान नगरे अर्को बाली तथा अर्को वर्ष समेत समस्या सिर्जना गर्ने बताइन् ।

यता किसानहरूले पनि मुख्य बाली धान खेती गर्दा नै समस्या आउँदा जीविकोपार्जनमा समेत समस्या आएको बताएका थिए ।उनीहरूले सिचाई तथा मलको उचित व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । तिलोत्तमा नगरपालिका १६ मा भएको वाली उपचार शिविरबाट २ सय बढी किसानहरूले लाभ लिएको तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए ।

 

 
 
  
 

You may also like