दार्चुलाका बाढी पहिरो पीडितलाई बासकै समस्या

by समतल अनलाइन

दार्चुला । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले घरवारविहीन भएका परिवारलाई बासको समस्या भएको छ ।

पीडितहरू अहिले नेपाल रेडक्रस सोसाइटी र जिल्ला समन्वय समितिको भवनमा आश्रय लिइरहका छन् । पीडितलाई खानाको समेत समस्या भएपछि महाकाली नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले दाल, चामल, नुन वितरण गरेका छन् ।
बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । सात जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् । बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा, महाकाली-३ डुङरीकी ३५ वर्षीया मानमति कार्की, नौगाड गाउँपालिका-१ की ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड-२ का ४५ वर्षीय मोहनराम पार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा परी गम्भीर घाइते भएकाहरूको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत उद्दार गरिएको छ । सुर्खेतबाट आएको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका-१ सल्लाका ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीय रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी सदरमुकाम खलंगा ल्याएको नेपाली सेनाको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ ।

उनीहरूलाई हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ हेमन्ती साउदले जानकारी दिएका छन् । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारै जनालाई धनगढी लगिएको उनले बताए । चार जनाको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ ।

सात बेपत्ता

बाढी पहिरोमा परेर सातजना बेपत्ता भएका छन् । बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गरिरहेका छन् । बेपत्तामा महाकाली-३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरू दीपक र दिनेश तथा अन्य चार जना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोले नौगाडमा १२ घर पूर्ण क्षति भएको छ भने महाकाली नगरपालिका-४ बंगाबगडमा १५ घर महाकालीमा बगेका छन् ।
पावर हाउस र जेसीभी पनि बगायो
बाढीले दार्चुलाको डुङ्रेखोलामा रहेको पावर हाउस बगाएको छ । निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्यास जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुलाको व्यास गाउँपालिका, दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका मानिसहरूले आवतजावत गर्ने लास्कु खोलाको झोलुङगे पुल बगाएको छ ।

दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ ।

महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूणर्रुपमा क्षति भएको छ। लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन । महाकाली-४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ। दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए । बमका अनुसार पाँचवटा जीप, एउटा ट्याक्टर र एउटा ट्रली बगाएको छ ।

 
 
  
 

You may also like