१२ करोड लागतमा बनेको कन्चन बाँधको उदघाटन

by समतल अनलाइन

सैनामैना । संघीय सार्बजनिक लेखा समिति सभापति भरतकुमार शाहले रुपन्देहीको कञ्चन बाँध सिंचाई आयोजनाको विहिवार उदघाटन गर्नुभएको छ ।

१२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी पु¥याउने र त्यहाँबाट सिंचाई योजनाहरु संचालन गर्ने आयोजनाको मूख्य उद्देश्य रहेको छ ।
उक्त आयोजनाबाट रुपन्देहीको गैडहवा गाउँपालिका, लुम्विनी नगरपालिका र कन्चन र मायादेवी गाउँपालिकाका धेरै वडामा सिंचाई सुविधा उपलब्ध हुने छ ।

कञ्चन बाँधबाट अव रुपन्देहीको दक्षिण पश्चिम क्षेत्रको करिव पाँच हजार बढी विगाहा क्षेत्रफलमा सिंचाई सुविधा पुग्ने भएको छ ।
सिचाई आयोजनाको उदघाटन गर्दै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले रुपन्देहीका ग्रामिण क्षेत्रमा धेरै पुल र सडकहरु बनेपनि सिचाई गर्ने बाँधको अभावमा खेतहरु धेरै बाँझो भैरहेकोले अव कञ्चन बाँधले यस क्षेत्रका किसानलाई धेरै सुविधा पुग्ने बताउनु भयो ।

लुम्विनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्दीन खानले सिंचाई विना अन्न उत्पादन हुन सक्दैन भन्दै अन्य भौतिक पूर्वाधार जस्तै सडक बनाउनु भन्दा पहिले सिंचाई आयोजना बनाउनु जरुरी छ भन्नुभयो । उहाँले आफूले सिंचाईलाई पहिलो प्राथमिकता दिने बताउनु भयो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सिचाईको अभावका कारण कृषि उत्पादन प्रभावित भएकोले अव सिचाईको व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले नेपाल कृषि प्रधान मुलुक भएपनि कृषिमा आत्मनिर्भर हुन नसकिएको भन्दै अझैपनि पानीको अभावमा खेतहरु बाँझो रहेकोले सिंचाईको व्यवस्था गरेर कृषिलाई सम्मृद्ध बनाउनुपर्दछ भन्नुभयो ।

 

 
 
  
 

You may also like