सातै प्रदेशमा वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । देशका विभिन्न भागमा आज (बिहीबार) पनि बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज बिहान देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने विभागले जनाएको छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकाले यातायात सेवा प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

 
 
  
 

You may also like