सैनामैनालाई हरियालीसहितको समृद्ध सहर बनाउने एमालेको प्रतिबद्धता

by समतल अनलाइन
Shares

सैनामैना । सैनामैनामा नेकपा (एमाले)ले दिगो विकासका लागि विभिन्न योजनामा प्रभावकारी काम गरेको र समृद्धिको आधार तयार पारेको बताएको छ । एमाले सैनामैनाले २०७४ को स्थानीय चुनावमा विजयी भएपछि एमालेको नेतृत्वमा सैनामैनामा सुरु गरेका कार्यहरुलाई पूर्णता दिन र तयार भएका समृद्धिका आधारलाई साकार पार्नका निम्ति एमालेकै नेतृत्वको निरन्तरताको खाँचो रहेको उल्लेख गरेको छ ।

आसन्न चुनाबका शन्दर्भमा एमालेले जारी गरेको प्रतिबद्धता र यसअघि भएका कार्यहरुका बारेमा जानकारी गराउन एमाले सैनामैनाले सोमबार मुर्गियामा पत्रकार सम्मेलन गरेको थियो ।

पार्टीको तर्फबाट प्रतिवद्धता समेत सार्वजनिक गर्दै प्रमुखका उम्मेदवार चित्रबहादुर कार्कीले सैनामैनामा समृद्धिको आधार तयार पारिएको र अबको कार्यकालमा त्यसलाई साकार पार्न अवसरको खाँचो रहेको बताउनुभयो ।
सैनामैना नगरपालिकाको भूउपयोग योजनालाई आधार बनाई नगरपालिकाले तयार पारेको यातायात गुरुयोजनालाई कार्यान्वयन गर्ने, नेपालकै नमुना रिङ्गरोडका रुपमा रहेको सैनामैना चक्रपथ गौरवको परियोजनाको हरित सडकका रुपमा विकास गरी सम्पन्न गरिने प्रतिबद्धतामा उल्लेख गरेको छ ।

सडकको मापदण्ड तोकिने र प्रत्येक वडाका सडकहरुलाई पूर्व–पश्चिम लोकमार्ग, चक्रपथ र मेजर रोडसँग पक्की सडकले जोड्ने समेत जनाउदै पार्टीले जोखिमपूर्ण क्षेत्रमा रहेका र असुरक्षित अवस्थाका बस्तीहरुलाई स्थानान्तरण गरिने र जनता आवास कार्यक्रमलाई विस्तार गर्ने, सरकारी एवं सार्वजनिक जग्गाको लगत संकलन गरी संरक्षण गर्ने र स्थानीय विशेषता तथा आवश्यकता अनुरुप त्यस्ता जग्गाको उपयोग गर्ने बताएको छ ।

विपन्न परिवारलाई खानेपानीको धारा निःशुल्क जोडी दिने कार्यक्रमलाई निरन्तरता दिँदै गरिबीको परिचयपत्र बाहेक सम्पूर्ण घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराइने समेत प्रतिवद्धता व्यक्त गरेको छ । ‘एकीकृत जलाधार क्षेत्र संरक्षण योजना’ तर्जुमा गरी तत् निकायमार्फत कार्यान्वयन गराइनेछ । सिंचाइका निम्ति आवश्यक पर्ने विद्युत डिमान्ड शुल्क हटाइनेछ । आगामी पाँच वर्षभित्र यस पालिका क्षेत्रभित्रका सम्पूर्ण कृषि योग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराइने एमालेको प्रतिबद्धतामा उल्लेख छ ।

यसैगरी अहिले सुरु भएको सैनामैना खुला संग्रहालय निर्माणको कामलाई पूर्णता दिइने भएको छ । यसैगरी सैनामैनामा बाहुल्य संख्यामा रहेका थारु समुदायको सम्मान गर्दै र थारु संस्कृतिको संरक्षणका लागि थारु गाउँलाई थारु सास्ंकृतिक गाउँको रुपमा मौलिक र परम्परागत शैलीमा विकासित गरिने एमालेको प्रतिबद्धता छ ।

शिक्षातर्फ शैक्षिक गुणस्तरको थप विकास गर्ने, विद्यालय भर्ना दरलाई शतप्रतिशत बनाइने र प्राविधिक शिक्षाको विकासमा विशेष चासो दिइने एमालेले जनाएको छ । ‘प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता भन्ने सोचलाई साकार पार्न एक शिक्षक एक ल्यापटप, एक कक्षाकोठा एक प्रोजेक्टर कार्यक्रमलाई प्रभावकारी बनाइने जनाएको छ’ प्रतिबद्धतामा उल्लेख छ ।

नगरपालिकामा निर्माणाधीन १५ शैयाको विशेषज्ञसहितको सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य पूरा गरी दुई वर्षभित्र पूर्ण रुपमा सञ्चालन गरिने र सो अस्पताललाई क्रमशः ५० शैयामा स्तर वृद्धि गरिने उल्लेख गरिएको छ । नगरलाई कुपोषण, कुष्ठरोग र क्षयरोग मुक्त पालिका बनाउने पनि एमालेको प्रतिबद्धतामा छ ।
यस्तै योग, व्यायाम तथा मनोरञ्जनका लागि पालिका तथा वडा तहमा आवश्यक पूर्वाधारहरुको विकास तथा त्यस सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ । स्वस्थ खाद्य सामाग्रीको सुनिश्चितताको लागि पालिकाको केन्द्रमा एक ‘खाद्य परीक्षण प्रयोगशाला’को स्थापना गरिने भएको छ ।

हरेक विद्यालयमा प्राथमिक उपचारको प्रबन्ध मिलाइने छ । साथै किशोर–किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।यस्तै घोषणा पत्रमा स्वस्थ र सुखी सैनामैनाबासी बनाउने अभियानअन्तर्गत सैनामैनाका सबै विद्यालय र प्रत्येक टोलमा आधारभूत योगा तथा व्यायामशाला निर्माण र कार्यक्रम सञ्चालन गरिनेछ । सैनामैना ११ को वनकट्टीमा एक सय बेडको ट्रमा सेन्टर निर्माण गरिने र पाँच वर्षभित्रै सञ्चालनमा ल्याइने प्रतिवद्धता ब्यक्त गरिएको छ । एक रोजगारी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । साथै युवा स्वरोजगार कार्यक्रम, युवामैत्री स्थानीय तह विकास कार्यक्रमलाई निरन्तरता दिइने घोषण पत्रमा उल्लेख गरिएको छ ।

जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधि उपचार, विश्राम, अध्ययन, खेलकुद तथा मनोरञ्जनका सुविधाहरु उपलब्ध गराइनेछ । सैनामैना वडा नं. १ मा निर्माणाधीन ज्येष्ठ नागरिक सरंक्षण ग्रामको निर्माण संघ र प्रदेश सरकारको सहयोगमा सम्पन्न गरी शीघ्र सञ्चालनमा ल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ । ‘मेरो पालिका सामाजिक विभेदमुक्त पालिका’ कार्यक्रमलाई सार्थक बनाइने तथा भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र विकासका लागि सबै पक्षको सहभागिता रहने गरी एक प्रतिष्ठान स्थापना गरिनेछ ।

कृषि पकेट क्षेत्रमा एक टोल एक पाठशाला सञ्चालन गरिनेछ साथै घरेलु बिषादी र कम्पोष्ट मल निर्माणमा जोड दिइनेछ । कृषिमा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्दै प्राङ्गारिक कृषि उत्पादनमा जोड दिइनेछ । निर्माणाधीन शीत गोदाम र बीउ भण्डारण सञ्चालन गर्ने कृषि उत्पादन (इबिक) कार्यक्रमलाई प्रभावकारी बनाइने सैनामैना नगर प्रमुखका उम्मेदवार चित्रबहादुर कार्कीले बताउनुभयो ।

नगरपालिका अन्तर्गत एक ‘उद्यमशिलता विकास इकाई’ स्थापना गरि सहुलीयत पूर्ण बैंकिङ्ग सुविधा, अनुदान, सीपविकास तथा उद्यमशिलतासम्बन्धी तालिम दिइनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको ज्ञान, सीप र पूँजीको सदुपयोग गरी उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिने छ । भूमि बैंकको स्थापना गरी सम्पूर्ण खेतियोग्य बाँझो जमिन उक्त बैँकमा ल्याई कृषि तथा पशुपंक्षीलगायतका उत्पादनशील क्षेत्रमा काम गर्न चाहने कृषक तथा व्यवसायीहरुलाई लिजमा उपलब्ध गराइनेछ ।

स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरु स्थापना गर्न उपयुक्त वातावरण निर्माण गरिने छ । कृषि तथा पशुजन्य उत्पादनबाट बहुउत्पादन गर्ने उद्यमीलाई आवश्यक पर्ने औजार तथा उपकरण खरिदमा विशेष अनुदान दिइने कार्यलाई निरन्तरता दिइनेछ । सरसफाइ, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धमा विद्यालयको पाठ्यक्रममै समावेश गरी शिक्षा तथा जनचेतना अभिवृद्धि गरिनेछ ।

सैनामैना १० मा फोहोर प्रशोधन केन्द्र स्थापना एवम् सञ्चालन गरिनेछ । आवश्यकताअनुसार स्वच्छ तथा सफा सार्वजनिक शौचालयहरुको व्यवस्था मिलाइनेछ । नगरपालिकालाई हरित सहर एवं बगैँचा सहरका रुपमा विकास गरिने र प्रत्येक घर परिसरमा कम्तिमा पाँचवटा फलफुलका बिरुवा लगाउनुपर्ने र विरुवा निशुल्क उपलव्ध गराइने छ । वनक्षेत्रको संरक्षण गर्दै त्यसलाई पर्या–पर्यटन प्रबद्र्धन गर्नमा समेत सदुपयोग गरिनेछ ।

सैनामैना–७ मा बन्न लागेको औद्योगिक ग्रामको निर्माण कार्य पूरा गरिने छ । कृषिमा आधारित उद्योग कलकारखानाहरुको स्थापनाका लागि कृषक सहकारीहरुलाई प्रोत्साहित गरिनेछ । नगरको समग्र विकासका लागि आवश्यक पर्ने लगानीका स्रोतहरुको सुनिश्चितताका लागि संघ तथा प्रदेश सरकारसंग आवश्यक समन्वय तथा सहकार्य गरिने छ । स्वतन्त्र प्रेस, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिनेछ । प्रत्येक नागरिकलाई सूचनाको हकको प्रत्याभूति गरिने एमालेको प्रतिबद्धतामा उल्लेख छ ।

उक्त पत्रकार सम्मेलनमा उपप्रमुखका उम्मेदवार बिना राना, पार्टीका नगर कमिटीका इन्चार्ज तथा निर्वाचन परिचालन कमिटी संयोजक मिनप्रसाद पौडेल, नगर कमिटीका अध्यक्ष तथा निर्वाचन परिचालन कमिटी संयोजक चेतनारायण न्यौपानेलगायतका नेताहरुको सहभागिता थियो । नेताहरुले पार्टीको तर्फबाट उम्मेदवार बनेका सबै उम्मेदवारहरु योग्य, सक्षम, इमान्दार र जनताका सेवकका रुपमा खटिने प्रतिनिधि रहेको दाबी गरेका छन् ।

एमालेले सैनामैनाका ११ वटै वडाहरुमा समावेशी उम्मेदवार उठाएको छ । राष्ट्रिय पार्टीबाट उपप्रमुखमा महिला उम्मेदवार बनाउने दलका रुपमा एमाले पहिलो बनेको छ । सैनामैनामा मात्रै एमालेले थारु समुदायबाट वडा अध्यक्षसहति ८ जनालाई उम्मेदवार बनाएको छ । थारु, मधेशी, महिला, जनजातिको सम्मान गर्दै एमालेले समावेशी उम्मेदवार बनाएको निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका एमाले सैनामैनाका अध्यक्ष चेतनारायण न्यौपानेले बताउनुभयो ।

You may also like

This will close in 0 seconds