देउवा-ओली वार्ता : ओली आफ्नो अडानमा अडिग, देउवाले दिएनन् ठोस जवाफ

by समतल अनलाइन

काठमाडौं।एमसिसीबारे सहमति खोज्न नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीसहितका नेताहरूबीच बालकोटमा भएको वार्ताले ठोस निचोडमा पुग्न सकेन ।

अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीले राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले सबैभन्दा पहिला एमालेलाई संसदमा छलफलको लागि आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त वा सभामुखको राजीनामाको पुरानै अडान दोहोर्‍याएको सुचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

‘पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्,प्रतिनिधि सभा प्रवेश गर्ने द्वार खोजिदिनुस्’, ओलीको जवाफ उदृत गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

माले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई प्रतिनिधिसभामा प्रवेश गर्ने वातावरण मिलाउन अध्यक्ष ओलीले अडान राखेको बताए । ‘अध्यक्षज्यूले एमालेलाई प्रतिनिधिसभामा प्रवेश गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो, त्यसमा सभामुख अग्नि सापकोटालाई हटाउने र १४ जना सांसदलाई कारबाही गर्ने विषय केन्द्रित थियो,’ ज्ञवालीले भने ।

त्यो सवालमा प्रधानमन्त्रीले ठोस जवाफ नदिए पनि गम्भीर रहेको उनको भनाई छ । ज्ञवालीले भने, ‘त्यो सवालमा उहाँहरूसँग ठोस जवाफ थिएन, तर गठबन्धनका अन्य दलसँग अविश्वास बढेर गएको बेला उहाँहरू गम्भीर चाहिँ देखिनुहुन्थ्यो।’

एमसिसि बाह्य देशसँगको सम्बन्धका कुरा पनि भएकाले एमाले अनिर्णीत नरहने बताए । ‘एमाले अनिर्णित रहँदैन र स्पस्ट दिशा पनि दिन्छ । तर त्यसका लागि सदनमा छलफल गर्ने वातावरण हुनुपर्यो’, ज्ञवालीको भनाइ छ ।

कांग्रेसको तर्फबाट देउवासहित सञ्चारमन्त्री कार्की, कांग्रेस महामन्त्री गगन थापा र पूर्णबहादुर खड्का बैठकमा सहभागी थिए । एमालेको तर्फबाट भने अध्यक्ष केपी ओलीसहित महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए ।

 
 
  
 

You may also like