जङ्गलमा गाडेको अवस्थामा बालिकाको निर्वस्त्र शव फेला, बलात्कारपछि हत्या गरिएको आशंका

by समतल अनलाइन

मोरङ । मोरङको लेटाङ नगरपालिका-८ स्थित लालहिरा सामुदायिक वनमा गाडेको अवस्थामा शुक्रबार बिहान एक बालिकाको शव भेटिएको छ । लेटाङ-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र नाङ्गो अवस्थामा गाडिएको भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।

उनका अनुसार प्रहरीले शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको छ । प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन् । बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको डीएसपी मुकारुङले जानकारी दिए । उनका अनुसार बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।

प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाडी माथिबाट ढुङ्गाले छोपेको अवस्थामा वनभित्र निर्वस्त्र अवस्थामा शव फेला परेको मुकारुङले बताए । ‘दुई दिनअघि विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन बालिकाको शव खाल्डोभित्र भेटियो,’ उनले भने, ‘उत्खनन् गरेर पोस्टमार्टमका लागि पठाउने तयारी गरेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको छ ।’

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोली अहिले घटनास्थलमा छ । अर्याल नेतृत्वकै टोलीले गाडेको स्थान पत्ता लगाएर शव उत्खनन गरेको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने आशंका प्रहरीको छ ।

पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा यकिन हुने जानकारी डीएसपी मुकारुङले बताए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुई जना पुरुषलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेका पुरुष ६४ र ४७ वर्षका छन् । नाम नुखलाइएका उनीहरुको घर बालिका विद्यालय जाने बाटो र सामुदायिक वनको छेउमा पर्छ ।

घटनास्थल बालिकाको घरबाट लगभग ३ किलोमिटर जति दक्षिण र उनी अध्ययनरत विद्यालयबाट लगभग २ किलोमिटर जति पश्चिममा पर्ने स्थानीय राज थापाले बताए । थापाका अनुसार प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूणर् बनेको थियो । चार/पाँच सयको संख्यामा भेला भएका स्थानीयले आक्रोसित हुँदै नाराबाजी र प्रदर्शन गरिरहेको उनले बताए ।

‘शरीरका सबै कपडा खोलिएको अवस्थामा बालिकाको निर्वस्त्र शव फेला पर्‍यो,’ थापाले भने, ‘शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेर गाडे जस्तो देखिन्छ ।’ बलात्कारपछि हत्या गरेर बालिकाको शव गाडिएको भन्दै आफन्त र स्थानीयले दोषीमाथि कारबाहीको माग राख्दै प्रदर्शन गरेका हुन् । घटनास्थलमा भेला भएका स्कुले विद्यार्थीहरु आफ्नी साथीको हत्या भएको देखेपछि भावविह्व भएका छन् । खाल्डोबाट शव निकालेको देखेपछि उनीहरु त्रसित मुद्रामा छन् ।

 
 
  
 

You may also like