आज प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा छैन एमसीसी

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल गर्ने चर्चा छ ।

तर संसद् सचिवालयले शनिबारै साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ ।

प्रचण्ड-माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत
तर आजको संसद् बैठकमा एमसीसी सम्झौता टेबल गर्न दिन सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन आवश्यक रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत भएका हुन् ।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक जना उच्च नेताले एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल अन्ततः सहमत भएको दाबी गरेका छन् । ‘एमसीसी संसदमा टेबल गर्ने विषयमा २-३ दिनदेखि गठबन्धनमा चलिरहेको छलफल निष्कर्षमा पुगेको छ, आइतबार संसदमा टेबल हुन्छ’, कांग्रेसका ती नेताले भने ।

यो सहमतिअनुसार आइतबार अमेरिकाले अनुदान सहयोग स्वरूप दिएको ५० करोड डलरको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने तयारी गरिएको छ । यसबारे अन्तिम निणर्य भने संसद् बैठकअघि आजै बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्ने जनाइएको छ ।

हिजो शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले यही सहमतिअनुसार एमसीसी संसदमा टेबल गर्न दिने निणर्य गरिसकेको छ । एमसीसीको विषयमा बारम्बार अडान फेरिरहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्ना वाचा फेरेनन् भने आज संसदमा एमसीसी सम्झौता टेबल हुनेछ । शनिबार सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसी नभए पनि प्रतिनिधि सभाको बैठक बस्नुअघि आज बिहान साढे ११ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । जसले संसद् बैठकको कार्यसूची परिवर्तन तथा थपघट पनि गर्न सक्नेछ ।

 

 
 
  
 

You may also like