साढे ९ करोड वर्षअघिको गोही जसले अन्तिम भोजनका रूपमा डाइनोसर खायो

by समतल अनलाइन

काठमाडौं । अस्ट्रेलियामा अनुसन्धानकर्ताहरूले करिब ९ करोड ५० लाख वर्ष अघिको नयाँ प्रजातिको गोही भेटाएका छन् । साथै अनुसन्धानकर्ताहरूले ती गोहीले आफ्नो अन्तिम भोजनको रूपमा डाइनोसर खाएको दाबी गरेका छन् ।

यस प्रकारको गोहीको जीवाशेष पहिलोपटक सन् २०१० मा फेला पारिएको थियो । पृथ्वीमा डाइनोसर मज्जाले डुल्दै हिँड्ने क्रेटासिअस अवधिको चट्टानले भरिएको स्थान अर्थात पूर्वी अस्ट्रेलियाको विन्टन फर्मेसन नजिक त्यस्ता जीवाशेष फेला पारिएको हो ।

केही जीवाशेष कुच्चिएका छन् । तर अनुसन्धानकर्ताहरूले ती जीवाशेषमा अन्य जनावरका स-साना हाड फेला पारेका छन् । डाइनोसरको अस्ट्रेलियन युगको संग्रहालयका अनुसन्धानकर्ताहरूले ती हाडहरू डाइनोसरको भएको पत्ता लगाएका हुन् । यो अनुसन्धानको प्रतिवेदन शुक्रबार जर्नल गोन्ड्वाना रिसर्चमा प्रकाशित गरिएको छ ।

सफा पानीमा बस्ने कन्फ्राक्टोसकस साउरोकटोनस नामको यो गोही आठ फिट लामो हुन्थ्यो । यसको नामको अर्थ ’दि ब्रोकन डाइनोसर किलर’ हो । तर संग्रहालयका सहायक अनुसन्धानकर्ता तथा यस अनुन्धानका प्रमुख अनुसन्धानकर्ता म्याट ह्वाइटले ती गोही अझै ठूलो हुनुपर्ने बताएका छन् । तर अनुसन्धानकर्ताहरू ती गोही कसरी अचानक मरे भन्नेबारेमा अझै अनभिज्ञ छन् ।

यस प्राणीको शरीरको ३५ प्रतिशत अंग संरक्षित गरिएको छ । यसको हात खुट्टा र पुच्छर नभएपनि टाउकोको भाग करिब करिब पूरै छ । अनुसन्धानकर्ताहरूले सो जिवाशेषमा रहेका हड्डीहरूबारे जानकारी हासिल गर्न एक्स-रे र सीटी स्क्यानको प्रयोग गरेका थिए ।
अनुसन्धानबाट ती जिवाशेष ओरिन्थोपोड समूहको शाकाहारी डाइनोसरको चार पाउन्ड बजनको बच्चाहरूको रहेको पत्ता लागेको छ । अस्ट्रेलियामा ओरिन्थोपोडको अवशेष भेटिएको पनि यो पहिलो पटक हो । गोहीको पेटमा डाइनोसरको बच्चाको तिघ्रा फेला परेको हो ।

 

 
 
  
 

You may also like